सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाभित्र जडान गरिएका अधिकांश ट्राफिक लाइट अहिले सञ्चालनमा छैनन् । विराटनगरको अस्तव्यस्त सवारी आवागमनलाई व्यवस्थित बनाउने ट्रयाक दिइरहेका लाइट यतिबेला बिग्रिएका छन् । त्यसले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको छ। ट्राफिक लाइट नचल्दा प्रहरी र सवारी चालक दुबै पक्षलाई असहज भएको छ ।
जेनजी आन्दोलको क्रममा ट्राफिक लाइटमाथि समेत सरकारको रिस पोखियो । त्यसका कारण सडकमा सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रणालीमा क्षति पुगेको थियो । विवरण अनुसार विराटनगर महानगरपालिका–१२ स्थित रोडशेष चोकमा पैदल यात्रीका लागि बनाइएको जेब्राक्रस लाइट फुटाइएको छ। त्यस्तै, एमसीबी र स्विच अन–अफ गर्ने बोर्ड फुटाइएको छ भने दक्षिणतर्फ संकेत गर्ने ट्राफिक लाइट समेत फुटाएर क्षति पुर्याइएको छ। सो क्षेत्रको ब्याट्री र इन्भर्टर समेत नष्ट भएको जनाइएको छ। त्यस्तै, महानगर–६ घाँसचोकमा पनि पैदल यात्रीका लागि प्रयोग हुने जेब्राक्रस लाइट फुटाइएको छ। सो स्थानमा पनि एमसीबी र स्विच अन–अफ गर्ने बोर्ड तोडफोड गरिएको छ।
महानगर–५ बरगाछी चोकमा जेब्राक्रस लाइटको पूर्वपट्टिको सिसा निकालिएको र एमसीबी तथा स्विच बोर्ड तोडिएको पाइएको छ। महानगर–४ कंचनबारी चोकमा पनि पैदल यात्रीको जेब्राक्रस लाइट फुटाइएको छ भने नोबेल अस्पताल जाने साइडको पोल र बरगाछी तर्फ जाने पोल भाँचिएर लडेको छ। सोही कारण ट्राफिक लाइट समेत फुटी क्षति पुगेको छ। त्यस्तै, महानगर–३ तिनपैनी चोकमा पैदल यात्रीको जेब्राक्रस लाइट, पूर्व साइडको टाइमिङ लाइट फुटाइएको, पोलका तार काटिएका र ब्याट्री तथा इन्भर्टर समेत हराएका छन्। एमसीबी र स्विच बोर्ड समेत तोडिएको विवरणमा उल्लेख छ।
महानगर–७ जलजला चोकमा पनि जेब्राक्रस लाइट फुटाइएको छ। सो स्थानमा ब्याट्री हराएको र एमसीबी तथा स्विच अन–अफ बोर्ड फुटाइएको प्रहरीले जनाएको छ। विराटनगरका अधिकांश ट्राफिक लाइट बिग्रिएपछि हाल महानगरका मुख्य सडक चोकहरूमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीले म्यानुअल रुपमा गाडी सञ्चालन गर्नुपर्ने बाध्यता भएको छ।विराटनगरका ट्राफिक लाइट बिग्रदा मार चालकलाई परिरहेको चालकहरु बताउँछन् । “ट्राफिक लाइट काम गर्दाखेरि सवारी सहज रूपमा चल्थ्यो, अहिले लाइट नहुँदा गाडी चलाउन निकै समस्या भएको छ,” एक बस चालकले भने, यसलाई सञ्चालनमा ल्याउन सबैले पहल लिनुपर्दछ । ट्राफिक लाइट बिग्रिएपछि चोकमा भीड, सवारी जाम र पैदल यात्रुका लागि समेत जोखिम बढेको छ। लाइट मर्मतका लागि दश लाख खर्च हुने अनुमान गरिएको छ ।
विराटनगरमा लामो समयदेखि ट्राफिक लाइटको माग भएपछि विराटनगर महानगरपालिकाले शहरका पाँच स्थानमा जडान गरेको थियो । प्रदेश सरकारले बरगाछीमा जडान गरेको थियो । ट्राफिकलाइट नभएको शहरका नागरिक त्यसको प्रयोगमा अभ्यस्त भइरहेका थिए । तर, बानी नपर्दै ट्राफिकलाइट आन्दोलनको निसानामा परेका छन् । जसको असर सडकमा सवारी आवागमनमा परेको छ ।