कसाई (कथा) – केशव भट्टराई

<span class='c1'>कसाई (कथा) –</span> <span class='c2'>केशव भट्टराई</span>

तपाईं धेरै दिनपछि आज मासु पसल जानुभयो । लामो दाह्री पालेको, शरीर मासुले भरिएको, आँखा राताराता गरेको कसाईले मासु मिलाएर ग्राहकलाई दिँदै गरेको देख्नुभयो । दयामाया नै नभएको मासुको थुप्रो मात्रै केही मानिसले देखेको तस्वीर ऊ हुनसक्छ ।

ऊ लाग्ने हतियारले फरकफरक अङ्गलाई छुट्याउँदै मासुको अलग अलग थुप्रो पारिरहेको थियो । मासु,रगत र बोसोले हातमा चिप्लो बढेकाले सुती कपडाले हात पुछ्दै गर्थ्यो भने हतियारको बोसो हटाउँदै र साँध लाउँदै गरेको हुन्थ्यो। ऊ कति कठोर, निर्दयी र हिंस्रक ! तपाईंलाई यस्तै लाग्थ्यो ।

बाहिर डोरीले बाँधिएर मृत्युलाई पर्खिरहेका धेरै निरिह र कमजोर जनावर तपाईंले देख्नुभएको छ । उनीहरू चेतनाले कमजोर भएर मानिसले फाइदा उठाएको हो कि मानिसको वाध्यता र विवशताको कुण्ठा कमजोर जनावरप्रति पोखेको ! अथवा मानिस सर्वहारी भएर हो ! के यिनीहरू मानिसको पवित्र - अपवित्र हृदयको लेखाजोखा गर्न सृष्टिमा बलिदान हुन तयार रहेका न्यायान्यायका तराजु हुन् ! कि यिनीहरूको जीवनको कुनै गुढार्थ छ ? तपाईं यस्ता बग्रेल्ती सोचाइमा हराउन थाल्नुभएको थियो ।

दुनियाँमा मासु काट्ने स्वचालित मेसिन कतिकति छन् र यसको व्यवसाय गर्ने कत्राकत्रा साना ठुला उद्योगहरू कति छन्। यसलाई मानिसको रुचि वा स्वादअनुसारको बनाउने फरफरक परिकार निर्माणका अनगिन्ती शिल्पी हातहरू छन् । के यी सबै सांसारिक अति आवश्यकीय व्यावहारिक गतिविधिलाई मानवताको चस्माले हेरीहेरीकन प्रश्नचिह्न लगाउनु अतिरञ्जित गर्नु हो ! अनि अति संवेदनशीलता हो वा मूर्ख्याईं पनि हो ?

यी अविरल सोचाइ आइरहन्थे । तपाईंको आफ्नै हृदयलाई विचलित, अस्थिर र भारी बनाउँथ्यो । तपाईंको व्यक्तिगत जीवनको गतिशीलतामा ठुलो असर पुऱ्याइरहेको थियो । तपाईँको दिनचर्या जीवहरूको दुःखपूर्ण अन्त्यले बोझिलो बन्दै गएको थियो ।

बजार किनमेल गर्न जानेहरू गइरहेका थिए । मासु पसलतिर पिलिक्क हेरेर हिँड्नेहरू खुसीखुसी आफ्नै मनको व्यस्ततालाई सामान्य बनाउँदै अघि बढिरहेका थिए । केही कुकुरहरू पसल वरपर मासुको गन्धमा रमिरहेका थिए । केही हड्डी टोकिरहेका थिए । बाहिरपट्टिको खोरमा मृत्युको पर्खाइमा बसेका दुईचार प्राणी बाँकी नै थिए ।

बाहिरको प्राणीलाई उसले भित्र लगेर कति छिटो माऱ्यो र भुत्ल्यायो, तपाईंले पत्तै पाउनुभएन । उसले त्यसलाई भुत्लाविहिन सफा र चिल्लो बनाएर लडायो । “यसले चाहिँ मेरो व्यवसायको धर्म थाम्छ कि !” ऊ निधारको पसिना टकटक्याउँदै हँसाइको मुद्रामा बोल्यो - “ ३५ केजी कसो नहोला।”

तपाईं त्यो बाटो प्रायः हिँड्दा आँखा जुधेमा ऊ मुसुक्क हाँस्छ । उसको मुखमा चुरोट हुन्छ । तपाईं उसको मासु पसल गएको बेलामा नबोलिरहन भने सक्दैन ।
“धेरै पछि आउनुभयो, कति लानुहुन्छ ?” सोध्यो ।
“एक केजी ।”
“ पर्खनुस् है एकछिन् ।”

मानिसहरू पालो पर्खिएर बसेका छन् भनेर तपाईंले बुझ्नुभएको थियो ।
प्लास्टिकमा अर्डरअनुसारका तौल भएका पोका लिएर जानेहरू गइरहेका थिए । थपिने फाट्टफुट्ट थिए । कसाईका सहयोगीहरू आआफ्नै काममा तल्लीन थिए । सबैका हात, लुगा र अनुहारका भागमा रगतका टाटा देखिन्थे ।

ऊ बम्कियो - “ मासुमा हड्डी ,छाला, बोसो मिसिएको हुन्छ । कि हड्डी र छालाबिनाको पाल्नुपऱ्यो कि प्रकृतिसँग प्रार्थना गर्नुपऱ्यो ।”
“ ए भाइ सानो स्वरले बोल न ।” कुनै ग्राहक बोल्यो ।
“ अघिदेखि यताको उताको, त्यो होइन यो चाहियो भन्दै ल्याङल्याङ गरेको मलाई मन परेन । राम्रो मासु दिएको छु । सबैलाई मिलाएर र पुऱ्याएर दिनुपर्छ । कसैलाई घटीबढी हुँदैन ।” ऊ फेरि बोल्यो ।
“तिमी मात्रै छौ यहाँ मासु पसले ! अरु चाहिँ छैनन् र ! खुब ठुलो कुरा गर्छौ । काम नै कसाई ! स्वभाव पनि त्यस्तै !” पान खाँदै गरेको ग्राहकको मुखबाट थुकसहित टुक्रिएका सुपाडीका टुक्राहरू निस्किए । उसका कान राताराता भएका थिए । जाडो भएर पनि नाकमा पानीका थोपा थिए ।

कसाईले आफूमाथि भएको छेडखानी र व्यङ्ग्य मिश्रित भनाइलाई बेवास्ता गरी बोल्यो -“सबैलाई राम्रै चाहिन्छ । तर यिनीहरूको जैविक बनोटमा सब मिसिएको छ । त्यसैले आँखाअगाडि सबैले देख्ने अनि थाह पाउने गरी मिलाएर दिइरहेछु त ।” उसले फेरि थप्यो - “ मैले लुकाएको छैन ।”

यति भनाभन हुनु अगावै तपाईं त्यहाँबाट हिँडिसक्नुभएको थियो । तपाईं मन नलागी नलागी त्यहाँ जानुभएको थियो । खाली हात फर्कनु परेको बाहना सुनाउने विषय तपाईंले पाइसक्नुभएको थियो ।

ग्राहकहरू पनि कल्याङमल्याङ गर्न थाले । एउटा ग्राहकले लिएर हिँड्न लागेको पोको कसाईले बाहिर आएर झ्वाट्ट तान्यो - “ खै पैसा ? मासु लगेर पैसा दिनु पर्दैन ? पैसा नदिई बाटो लाग्ने ? खै ग्राहकको धर्म ?”कसाई चोक थर्किने गरी करायो ।

“हँ” - गोजी छाम्यो । “के रे, पैसा दिइन रे !” अनकनाउँदै अकमकिदै बोल्यो - “ मेरो गोजीमा छैन पैसा, दिइसकेँ ।” यतिन्जेलसम्ममा मुखको बाँकी पान सकिसकेको थियो ।

कसाईले ग्राहकको हातबाट एउटा नोट तान्यो - “ यो के हो ? यो हजारको नोट ।”
झगडा गर्न खोज्ने ग्राहक अक्क न बक्क भयो । ऊ लाजसरमले रातोपिरो देखियो । कसाईले पुनः हजारको नोट ग्राहकको गोजीमै हाल्दियो । उसले मासुको पोको भने अघि तानिसकेको थियो ।

पन्ध्र दिनपछिको कुरा हो । उसलाई बिहानै कुनै किराना पसलमा तपाईंले देख्नुभयो । उसका वरिपरि चारपाँचओटा त्यही चोकबजारका सानाठुला भुस्याहा कुकुर थिए ।

ऊ भन्दै थियो -“ ला खा ।” उसको हातहातैबाट कुकुर अलि लामा प्रकारका बिस्कुट तान्दै थिए । “ तँ उता जा । यो उसलाई हो । तँलाई त्यहाँ छ, खाइनस् भने तेरै भुँडी भोको हुन्छ ।” ऊ यस्तै गनथन उनीहरूसँग गर्दै गरेको तपाईंले देख्नुभयो ।

“आज शनिवार हो, मेरो पसल बन्द हुन्छ । तिमीहरू कहाँ छौ, के गर्दै छौ भनेर हेर्न आएको, खाए खाओ नखाए नखाओ ।” ऊ गुनासो गर्दै थियो - “ तिमीहरूलाई हड्डीमासु मात्रै पुऱ्याउन त कहाँ सक्छु र ! कहिले कहीँ खस्रो मसिनो पनि स्वीकार्नु पर्छ जसरी म तिमीहरूलाई स्वीकारिरहेछु ।” उनीहरू पुच्छर हल्लाईहल्लाई खाइरहेका थिए ।

तपाईं उसको नजिकै जानुभयो । उसको स्वस्फुर्त मानसिक - शारीरिक अवस्थाको पलभरमै अवलोकन गर्नुभयो । ऊ मुसुक्क हाँस्यो । “कति छन् यिनीहरू ?” तपाईंले सोधिहाल्नुभयो ।

“अहिले मसँग ६/७ ओटा छन् ।” ऊ खुरुखुरु बोल्न थाल्यो - “ उ: त्यो अस्ति सुत्केरी हुँदा मरिसकेकी थिई । मैले घरबाट गाँस कटाएर मासुभात दिएर बँचाएँ । नगरपालिकाले बन्ध्याकरण गर्ने कार्यक्रममा छुटिछे । यसलाई बोकेर लगेर भए पनि गराएँ । अहिले सबै फेरिएका छन् । मैले खाने गरेका दुईचार खिली सुर्ती यिनीहरूले खाइदिने हुन् । जीव हुन्; बाँच्ने अधिकार छ । यो पृथ्वी यिनीहरूको पनि हो ।”

ऊ बोलिरहँदा तपाईंले कुरा काटेर प्वाक्क बोल्नुभयो - “ अनि प्रत्येक दिन तिमीले मासु बनाएका जीवनको मूल्य, अस्तित्व र अधिकारको कुरा चाहिँ बिर्सियौ ?”

ऊ गम्भीर भएर बोल्यो - “ जीवनयापनका क्रममा मैले मार्ने जीवहरू साधन हुन् । व्यावसाय चाहिँ साध्य हो । तपाईं पढेलेखेको मान्छे, मेरो कुरा बुझ्नुभयो होला । मलाई जीव मार्ने अधिकार मात्रै छैन, बँचाउने पनि कर्तव्य छ । मेरो काम भनेको मासु बेचेर समाज सेवा गर्ने र आफ्नो पनि पेट पाल्ने उद्देश्यमा केन्द्रित छ । जसले जीवलाई हिंसा गर्छ , बँचाउँदैन वा निरिह जीवप्रति समभाव राख्दैन, त्यो चाहिँ मनुष्य होइन हिंस्रक हो ।”

उसले यसो भनिरहँदा तपाईं कुकुरका छाउरा र बिरालाका न्याउरासँग हुर्किनुभएको जस्तै लाग्ने दिनहरू सम्झनुभयो । आज पनि पचास बर्से छेउछाउको उमेरमा घरबाहिर म्याउँ म्याउँ गर्दा वा कुनै प्राणी भोकाएको आभास हुँदा कहिले दुध - दहीभात, मोही चिउरा, उब्रिएका हड्डीखुड्डी जहिल्यै राखिदिने गरेको याद ताजा भएर आयो । पाल्तु होस् या फाल्तु दिनमा दुईचार प्राणीको बाँच्न पाउँने अधिकार नागरिकका तर्फबाट गरिने कर्तव्यको बोधले तपाईंलाई पलभर मात्रै हर्षविभोर बनायो ।

ऊ बोल्दै थियो - “ यसले मेरो मासु पसल कहिल्यै छोड्दैन । सानो छ तर ठुलालाई आउँनै दिँदैन । उः त्यो सन्तोकी छ, जति दिए पनि सरक्क खान्छ, लोभ गर्दैन, आश गर्दैन । उः त्यो अर्कोलाई चाहिँ एउटा हड्डी फ्याँकिदिनु पर्छ, ङार्र ङुर्र गरेर हैरान लगाउँछ, तमासा देखाउँछ ।”

“कुकुर पालेर खुब ठुलो कुरा गर्छौ त कसाई भाइ ! घरआँगन बाटोघाटो बिस्ट्याएर केही छैन । यी भुस्याहा कुकुरले हैरान लाइसके । केको नाक फुलाउँछौ ?” एक जना लट्ठी टेकेका सत्तरी वर्ष जतिका चन्दन घसेका घाँटीमा मसिनो गुटीको माला लगाएका ब्राह्मण कुर्लिए र ढुङ्गो टिपेर कुकुरलाई हान्न तयार भए ।

आफूले परिवारका सदस्य जतिकै माया गरेर पालेको विषयमा छेडेर बोल्दा उसलाई झनन्न रिस उठ्यो तर सम्हालिएर बोल्यो - “ के रे बा ! बिस्ट्याए रे । तपाईंले राती ट्वाइलेट जानको गाह्रोले प्लास्टिकमा बिस्ट्याएर बाटातिर मिल्क्याउनुभएको बिर्सनुभयो ?”

उसलाई अझै चित्त बुझेनछ - “अहिले पनि यो बाटोमा कुकुरको भन्दा बढी मान्छेको बिस्टा बढी कुल्चदै हिँड्नुपर्छ । खुब सभ्य र शुद्धताको ढोँगी कुरा गर्नुहुन्छ ! त्यो हातको ढुङ्गा छोड्नुहोस् बा ।”

उसले यति भनेपछि ब्राह्मण पनि उच्चरक्तचापका बिरामीझैँ रातोपिरो भएर थरथरी काम्न लागे । यसले त्यो आफूलाई अप्ठ्यारो परेको रातको घटनालाई आँखैले देखेजस्तो गरी कसरी भन्यो भन्ने कुराले उनको अन्तर्हृदयलाई च्वास्सै घोच्यो । रिसले चुरचुर भएर बोली निस्किदै, फुस्किदै र अड्किदै हुन थाल्यो उनको ।

यही मौकामा तपाईंले पनि थप्नुभयो - “ ए बुबा त्यसरी आबेसमा नआउनु न । तपाईंलाई थाह छ! महाभारतमा कौरव पाण्डवको लडाईंपश्चात् युधिष्ठिरसँगको स्वर्गको यात्रामा कुकुर पनि थियो भनेर । त्यसैले कुकुर र मानिसको मित्रता वा सम्बन्ध आजको मात्रै होइन, पौराणिक काल देखिकै हो।” ब्राह्मणले मेरो मुखमा पुलुक्क हेरे ।

कसाई भाइले सुर्ती मजाले माडेर मुखमा चेप्न मिल्ने पहेँलो बनाइसकेको थियो, राख्यो । उसलाई फेरि बोल्ने मुड आएछ क्यारे, ब्राह्मण बातिर हेरेर बोल्न थाल्यो - “ तपाईंले तिहारमा यिनै कुकुरलाई यमराजको दूतका रूपमा पूजा गरेर तिनै हातले टीका र माला लगाइदिनुभएको होइन ? मलाई यी निरिह र बोल्न नसक्ने प्राणीप्रति गलत व्यवहार गरेको मन पर्दैन ।”
किराना पसले भाइले सब कुरा सुनिरहेको थियो । उसलाई पनि बोल्न खसखस लागेछ - “ हामीले साइन्समा पढेका थियौँ; पहिलोपटक अन्तरिक्षमा मानिससँगै कुकुर पनि गएको थियो । जसको नाम लाइका थियो ।”

बुढा अघिदेखि रिसाएर कसाई भाइलाई पिलिक्क पिलिक्क हेर्दै थिए । बिहान छ बजेको समय भएर पनि रातजस्तै अन्धकार थियो । आकाश हुस्सुले ढाडिएर ढपक्कै ढाकेको थियो । उत्तरतर्फ जाने गाडी आधा घन्टाअगाडि ट्याँट्याँ कराउँदै हुतिएर अघि नै गुड्किसकेको थियो । पश्चिमतर्फ जाने गाडीको हर्न अलिअलि गर्दै टड्कारो हुन थालेको थियो । पसलमा एकदुई जना ग्राहकको आगमनले पसले भाइ उतै व्यस्त थियो । कसाई भाइ एउटा कुकुरको टाउको सुम्सुम्याउँदै आँसु पिर्लिक्क पिर्लिक्क झार्दै थियो; बाँकी बिस्कुट पनि दिएर घर जाने जस्तो छाँटकाँट उसको देखिन्थ्यो ।

अचानक त्यहाँ ड्याम्म ड्याम्म गरेर ठुलो आवाज आयो । कसाई भाइ ब्राह्मणको लौरो खाएर पुरै उत्तानो परेर ऐया ! ऐया ! भनेर कराइरहेको थियो । कुकुरहरूले पनि एकदुई डन्डी भेटिसकेकाले काईँ कुइँ गरेर यताउता भाग्न लागे । उनीहरू हाहु . . . . गरेर आफ्नो मालिक कुटिएकोमा बिलाप गर्न थाले ।

त्यहाँ एकदुई जना मानिस थपिइसकेका थिए । उसले घुँघरुको लौराले तिनचार पटक खाइसकेको थियो ।

‘लु खा !’ ‘ला !’ ‘कसाई !’ भनी भनी हान्न थालेपछि र हान्न नछोडेपछि कसाई भाइले लौरो च्याप्प समात्यो र बिस्तारै उठ्यो । उसले ब्रह्मणको हातबाट लौरो सजिलै खोस्यो र भन्यो - “ ब्राह्मणलाई हात लाउन हुँदैन भनेर गरिएको शास्त्रसम्मत कुराको पालना गरेर मात्रै म सहिरहेको थिएँ ।”

ब्राहमण रिस र गोदाइको बल प्रयोगले शक्तिहिन जस्ता भएर थुरथुर कापिरहेका थिए । यस्तो अवस्था देखेर उसलाई ब्राह्मणदेखि उल्टै दया लागेर आयो । फेरि कसाई भाइले ब्राह्मणलाई लौरो फर्काइदियो । हातमा लौरो नसमातिएपछि उसले दुबै हातले ब्राह्मणको लौरो हातमा समातिन सघाएर जमिनमा टेकाइदियो र हात जोडेर भन्यो - “ अझै रिस मरेको छैन भने कुट्नुस् बा ! मलाई कुट्नुस् तर यी निरिह प्राणीलाई नकुट्नुहोस्, माया गर्नुहोस् ।”

ब्राह्मणले कसाई भाइको बाँया आँखीभौँ मास्तिरबाट झर्दै गरेको रगतको मसिनो डोरो देखे । गहिरा आँखामा कुनै प्रतिशोध, हिंसा र घृणाको लेस पनि बाँकी रहेको देखेनन् । कुनै अद्भुत बुद्धत्व शक्ति छताछुल्ल पोखिएको शान्त, स्थिर र ज्ञानी परमात्माको दर्शन गरेको अनुभूति हुँदै गर्दा पश्चात्ताप र ग्लानीले उनको गला अवरुद्ध भई बिस्तारै थर्थराउँदै लौरो टेकी आफ्नै घरतिर अघि बढे ।

कसाई भाइले उनलाई देखिउन्जेल टाढासम्म उनमा कुनै विचित्र परिवर्तनको क्षिण आशाले निर्निमेष हेरिरह्यो ।

ब्राह्मण हिँडेपछि उनीद्वारा डराइएका र तर्साइएका कुकुरहरू कसाईको छेउछाउ पुच्छर हल्लाउँदै एकछिन यताउता गरेपछि ढुक्क भएर नजिक आएर बसे ।

मानवता हराएको ज्वारभाटाले तपाईंलाई पोलिरहने अति संवेदनशील यो विषयले सधैँ सताइरह्यो । भौतिक अतिवादिताको अधोगतिसँग तपाईं पनि थाक्दै र हार्दै जानुभएको थियो ।

तपाईं यी सब घटना मुढोजस्तो बनेर देखिरहनु भएको थियो स्थावर झै। कसाई भाइप्रतिको गलत विश्वास अघि नै हृदय र मस्तिष्कको अन्तरकुन्तरबाट निस्केर विलुप्त भैसकेको थियो । यो घटना देख्ने हेर्नेहरू जीवनको पुनर्परिभाषा आफ्नो हृदयको कुनाकानीतिर खोज्दै हिँडेको आभास हुन्थ्यो ।

यो घटना भएको रातदेखि ब्राह्मण राम्ररी निदाउन सकेनन् । उनको मन अथवा समग्र दिनचर्या अस्थिर रह्यो । जीवनको दैनिकी अनौठो बन्यो । सहनै नसक्ने खटपटी र बेचैनीले उनलाई सताउन थाल्यो । सपनामा कुकुरहरू आएर टोक्न र लुछ्न लागेकाले उनी भोक न तिर्खा भए । स्वास निस्केर गए त ढुक्कै तर न स्वास तान्न सके न फ्याँक्न । स्वास छातीमै अड्केर सास न बासका भए । स्वास छातीमै गाँठो परेर हल न चल हुँदै गए तर उडेर सधैँका लागि गएन ।

परिवारका सदस्यहरू पनि बुबामा देखिएको असामान्य व्यवहारदेखि दुखित भइरहेका थिए । समस्या झनझन बढ्दै गएकाले कान्छा छोरा अलि पढेलेखेका र बुबाको समस्यालाई नजिकबाट नियालिराखेका हुनाले मनोचिकित्सककहाँ लगेर देखाए । ब्राह्मणले कसाईसँगको झगडालाई बेलिबिस्तार लगाए । चिकित्सकको परामर्शअनुरूप बाबुलाई लिएर कान्छा छोरा घर आए ।

घर आएको पन्ध्र दिनपछि चोकमा अनौठो घटना देखियो ।

कसाई भाइले तपाईंलाई फोनबाट भन्यो - “ चोकमा अनौठो घटना देखियो; तपाई तुरुन्तै आउनुपऱ्यो ।”

तपाईं झन साथीभाइ भन्नेबित्तिकै हुरुक्क भएर घर गृहस्थीका जिम्मेवारी छोडेर कुदिहाल्ने मान्छे । अझ त्यसमा अनौठो घटना थपिइसकेपछि उडेर त्यहाँ पुग्नुभयो । उसले चिया आधा रित्याएको थियो भने चुरोट चाहिँ पुरै । तर तपाईंको गुलियोरहित एक कप चिया सेलाउन अलिकति बाँकी नै थियो । तपाईंले एक सुरूप लगाइहाल्नुभयो । उसले इसरा गरेर पूर्वतिर मुन्टो घुमाउँदै गर्दा तपाईंका पनि आँखा त्यतै घुम्दै गए ।

हो रहेछ, त्यो विचित्र घटना नै थियो तपाईंहरू दुबैका लागि । अझ कसाई भाइका लागि यो घटना मर्मस्पर्शी र अविस्मरणीय थियो ।
ब्राह्मण बा आफ्नो वरिपरि भुस्याहा कुकुर जम्मा पारेर तिनीहरूलाई खानेकुरा दिँदै उनीहरूसँगै बात मारिरहेका थिए । प्रेमपूर्ण हाउभाउका साथमा जिस्कदै र सुम्सुम्याउँदै बिस्कुट, रोटी हातहातै खुवाइरहेका थिए ।

के साँच्चै अन्य निरिह जीवप्रति गरिने नकारात्मक व्यावहारले उनीहरूको आत्मालाई भड्काउँछ ! र त्यसको असर वा दोषको हिसाबकिताब बोकेर चित्र गुप्त बसेको हुन्छ ! के मानिस निरिह जीवसँग प्रतिशोध लिएर मनमस्तिष्कमा नकारात्मक उर्जालाई शरीरभरि सञ्चय गरिराख्छ ! के मनुष्य बेसाहारा मानवेतर जीवनको साहरा बन्न सक्दैन र ! कि मनुष्यलाई निरिहतासँग घृणा छ र जोसुकै कमजोरलाई शोषण र विभेद गर्न उद्दत छ !

ऊ र तपाईं दुबैले यो घटनालाई अपलक, निर्द्वन्द्व र मुक्त हृदयले अघाउन्जेल हेर्नुभयो ।

यो घटना भएको एक महिनापछि माघ मध्य उताको दिन हुनुपर्छ । रातभरि कुकुकुरहरू कराइरहे । उनीहरू अनेकौँ विलापमय आवाज निकाल्दै कहिले बजारको ओल्लो छेउ र पल्लो छेउ गरिरहे । जुनेली रात भइकन पनि आकाशमा बादल ढाडिएर औँसी घोप्ट्याएको महसुस हुन्थ्यो । कुकुरहरू हु . . . हु . . . . गरेर मान्छे रोएकै लयमा रातभरि कराइरहे ।

कुकुर यसरी रोइकराइ गरिरहेको आवाज र दृश्यले कसाई रातभरि निदाउन सकेन ।

के यो जीवमा मानिसको हृदयविदरक क्षणको भविष्यवाणी गर्नसक्ने अन्तर्दृष्टि हुन्छ भनेर आँकलन गर्न सकिने आधारहरू केही छन् ? किन यिनीहरू मानिसको मनमस्तिष्क हल्लिने गरी कुनै अपशकुनको एकोहोरो शङ्ख धुन उरालेर आफ्नो व्यवहार र चरित्र देखाउँछन् ? के यिनीहरूलाई थाह हुन्छ मृत्युको रहस्य !

ब्राह्मणको प्राणपखेरु सजिलै बोल्दाबोल्दै उडेर गएछ । अब उनी यस धर्तीमा रहेनन् - रातभरि कुकुरहरू कराएको रहस्य यस्तो थियो ।

ब्राह्मण खसेको थाह पाउनेबित्तिकै कसाई भाइ कुदेर गयो । वरिपरिबाट घेरिएर मृत्युलाई आत्मसात गरिसकेको पार्थिव शरीरलाई उसले नियाल्यो र घाट लैजानका लागि तयारी गरिरहेका छिमेकहरूसँग ऊ पनि मिसियो ।

तपाईं एकहप्तापछि बिहानी चिसोमा घुम्न निस्कदा कसाई भाइ कुकुरहरूसँगै थियो ।

समाप्त !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्