विराटनगर । हिन्दु धर्मालम्वीहरुको महान चाड दिपावली संघारमा छ । तराइमा दिपावलीको तयारी छैठसँग समेत नजिक भएर गरिन्छ । यी दुवै पर्व उज्यालोका प्रतिक मानिन्छन् । तिहार र छैठमा माटोका भाँडा बढी प्रयोग हुन्छन् । जसमा दियो, पाला, घडादेखि अन्य विभिन्न सामाग्री हुन्छन् ।
यी सामाग्री बनाउन माटोसँग खेल्नेहरुको कथा भने भिन्नै छ । धनकी देवी लक्ष्मीको विशेष पूजा हुने भएकोले उक्त दिन माटाको दियोमा बात्ती हालेर बत्ती बाल्नु शुद्ध मानिन्छ । दियोमा बत्ती बाल्ने चलन यसरी नै चल्दै आएको छ । कसैको विशेष महत्वको पर्व कसैका लागि विशेष अर्थोपार्जनको समय पनि हुने गर्दछ । त्यसैले सीप भएका कुमालेहरु माटोबाट हस्तकलाका सामाग्री बनाएर अहिले बिक्री गर्न व्यस्त छन् । उनीहरुले चिम्टाईलो माटोबाट दियो, घैला ,कोसीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलियालगायतका समाग्री बनाउँछन् र बजारसम्म पठाउँछन् । हातमा माटोको सुगन्ध भरेर सीप बुन्ने कम्हार (कुमाले) समुदायको यो सिर्जना पर्व मनाउनेहरुको घरआँगन झिलिमिली पार्ने र लक्ष्मी भित्र्याउन प्रयोग हुन्छ ।
विराटनगर–९ घाँसचौक पूर्वतर्फको सडकमा पसलभरी माटोका सामाग्री बिक्रीका लागि राखेका दिपेन्द्र साहका अनुसार दिपावली र छैठ पर्व मनाउन आवश्यक पर्ने विशेष वस्तु नै माटोबाट बनेका सामाग्री रहेको बताउँछन् । उनका अनुसार यी पर्वमा माटोबाट बनेका सामाग्रीको माग बढी हुन्छ । त्यसैले सीप भएकाहरुसँगै यसको व्यापार गर्नेहरका लागि समेत यी विशेष सामाग्रीमा पर्दछन् भने खरिद गर्नेहरुको लागि पनि उतिर्क महत्वपूर्ण छन् ।
बजारमा प्लास्टिक र बिजुलीका बत्तीहरूको उपयोग बढेपनि माटाका सामाग्रीको उपयोगिता यी दुईपर्वमा धेरै कम भएको छैन । तर, पनि पहिलाको तुलनामा यसको मागमा क्रमशः घट्दो स्थिति भने देखिएको छ । त्यसले माटोसँगै खेलेर सीप उपार्जन गरिरहेका कुमाले समुदायदेखि बजारमा ल्याएर बिक्री गरेर मुनाफा आर्जन गर्ने व्यापारीसम्ममा चिन्ता भने बढाउँदै लगेको छ ।