पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्

<span class='c1'>पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम</span> <span class='c2'>जीवित सदस्य कान्छा शेर्पा रहेनन्</span>

काठमाडौं । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ ।

परिवारका अनुसार, आंग फुर्बा ‘कन्चा’ शेर्पा बिहीवार बिहान करिब २ः०० बजे स्वर्गीय भएका हुन् । शेर्पाले आफ्ना अन्तिम दिनहरू आफ्नो पैतृक घर नाम्चे बजारमा बिताएका थिए । जुन सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ ।नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने,‘कान्छा’ शेर्पाको निधनले हामीलाई गहिरो शोक दिएको छ । सगरमाथाको पहिलो सफल आरोहणको इतिहाससँग जोडिएका यी महान व्यक्तित्वको अनुपस्थिति अद्वितीय क्षति हो । नेपाली पर्यटन क्षेत्रमा यसले अपूरणीय क्षति गरेको छ ।’कान्छा शेर्पा सन् १९३२ मा नाम्चेमा जन्मिएका थिए । १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट भागेर भारतको दार्जिलिङ पुगेका उनको त्यहाँ तेन्जिङ नोर्गे शेर्पासँग भेट भएको थियो ।तेन्जिङले उनलाई सन् १९५२ को सगरमाथा अभियानका पर्वतारोहीको छोरा भएको थाहा पाएपछि सन् १९५३ को सर एडमन्ड हिलारीको अभियानमा सामेल गराएका थिए । यस अभियानमा उनी १०३ जना शेर्पामध्येका एक थिए र दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे ।

कान्छा शेर्पाले सन् १९७३ सम्म पर्वतारोहण अभियानमा काम गरे र पछि पत्नीको अनुरोधमा अवकाश लिएका थिए । त्यसपछि उनले हिमालयका ट्रेकिङ समूहसँग मार्गदर्शन गर्दै यात्रुहरूलाई सहयोग गरिरहे ।कान्छा शेर्पा स्वयं सगरमाथाको शिखरमा पुग्न सक्न सकेनन् । तर अभियानको सफलतामा महत्वपूर्ण भूमिका निभाए । उनी अन्तिम शिविर (हालको साउथ समिट) सम्म पुगेका थिए ।सन् २०२० मा राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा उनले अभियानका प्रारम्भिक दिनहरूको सम्झना गर्दै भनेका थिए, ‘हामी भक्तपुरबाट ३५ जना आरोही र ४०० भरियाहरूसँग निस्कियौं । बाटो थिएन, होटल थिएन, केवल पैदल यात्रा र भुटेको मकै खान्थ्यौं ।’क्याम्प १ सम्म पुग्ने मार्ग निर्माण सबैभन्दा चुनौतीपूर्ण काम भएको उनले उक्त अन्तरवार्तामा बताएका थिए । खुम्बु आइसफलमा गहिरो दरार आएको थियो । ‘हामीसँग सीढी थिएन । त्यसैले हामी नम्चे फर्कियौं, दस वटा पाइनको रुख काट्यौं, बोकेर माथि लग्यौं र काठको पुल बनायौं ।’उनका अनुसार, त्यतिबेला सगरमाथालाई नेपालीमा आधिकारिक रूपमा ‘सगरमाथा’ भनिएको थिएन; स्थानीयहरूले त्यसलाई ‘चोमोलुङ्मा’ भनेर चिन्थे । अभियानले क्याम्प चार स्थापना गरेपछि हिलारी र तेन्जिङ शिखरमा पुग्न अघि बढेका थिए ।१९५३ मे २९ मा करिब १ बजे रेडियो संदेशमार्फत उनीहरूको सफलताको पुष्टि भयो । कान्छाले सम्झिए, ‘हामी नाच्यौं, अँगालियौं र चुम्बन गर्यौं। त्यो पूर्ण आनन्दको क्षण थियो ।’

उनको योगदानको मूल्याङ्कन गर्दै दैनिक आठ रुपैयाँ पारिश्रमिक दिइएको थियो । कान्छा शेर्पाको निधनसँगै पहिलो सफल सगरमाथा अभियानका सबै सदस्यहरू अब यस संसारमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्