विराटनगर । भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान करिब ११ बजे भएको दुर्घटनामा ४ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ । प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
भोजपुरका डीएसपी राजु लामाका अनुसार मृत्यु हुनेमा चालक स्थानीय अन्दाजी २५ वर्षीय आइतबहादुर तामाङ र सहचालक भोजपुरको अरुण गाउँपालिका ४ का अन्दाजी १७ वर्षीय नवीन तामाङ छन् । ट्याक्टरमा सवार दाछिरी शेर्पा, २३ वर्षीय अम्बर तामाङ, सागर तामाङ र सुनिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि षडानन्द नगर अस्पताल पठाइएको छ ।