विराटनगर । झापाका शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ वर्षीया सरोज शर्मालाई सुन खरिदका लागि बोलाएर झुक्याईकन हत्या गर्ने एक महिनादेखि योजना बनाइएको खुलेको छ । शर्माको हत्यापछि संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो । झापा प्रहरीले शर्माको हत्यामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजानिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरीले दिएको जानकारी अनुसार, शर्माले सुन खरिद गर्न चाहेको आशय घटनामा संलग्न रहेका आरोपित सुनिल साहलाई एक महिना अगाडी नै बताएका थिए । साहले शर्मालाई सुनको प्रलोभनमा अपहरण गर्ने र भारतमा पु¥याउने योजना बनाएको प्रहरीसँगको बयानमा खुलाएका छन् । साह समेत झापा शिवसताक्षी–१० कै स्थायीवासी हुन् ।
शर्माले सुन खरिद गर्ने आशय व्यक्त गरेअनुसार साहले भने झुक्याएर पैसा लिने अनि लुट्ने योजना बनाएका थिए । यहि क्रममा गत कार्तिक ९ गते उनलाई साँझपख सुन खरिदका लागि बोलाइएको थियो । त्यस क्रममा अर्जुनधारा–४ दहीझोडा जंगलमा लगिएको थियो । घटना घटाउनका लागि शिवसताक्षीकै सुनिलले उनका भान्जानातामा पर्ने राहुल साह र अर्काएक भारतीय नागरिकलाई सामेल गराएका थिए । जंगलमा पु¥याएपछि त्यहिं शर्माको हत्या गरिएको प्रहरीले बताएको छ । उनको टाउकोमा ह्याम्बर प्रहार गरेर हत्या गरिएको थियो ।

अनि त्यहि रात शर्माकै गाडीमा राखेर शव झापा गाउँपालिका–५ स्थित बिरिङ पुलमुनी ल्याएर गाडेका थिए । त्यसपछि कार्तिक १३ गते मेचीनगर नगरपालिका–१३ मा शर्माको गाडीमा आगो लगाइएको थियो । उक्त स्थान नजिक हत्या आरोपी शर्माले लगाएको एउटा चप्पल समेत फेला परेको थियो । घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलि समेत सक्रिय भएर सुनिल साहलाई विराटनगर महानगरपालिका रानी क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । उनलाई नियन्त्रणमा लिएपछि शव उत्खनन् गर्ने र अर्का आरोपित राहुल साहलाई पक्राउ गरिएको थियो । घटनामा संलग्न देखिएका भारतीय नागरिक फरार रहेका छन् ।