विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारको ठेक्का रद्द गर्ने प्रक्रियामा अगाडी बढाउन सहमति भएको छ । स्थानीयको दवावसँगै बिहीबार भएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले ठेक्का रद्द गर्ने प्रक्रिया बढाउने निर्णय गरेको हो ।
बैठकले रतुवादेखि केशलिया अन्तर्गत (च्यानेज ३६+००० देखि ४२+०००) ठेक्का रद्द गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको छ । यो निर्णयसँगै कार्तिक २१ गते (शुक्रबार) देखि ठेक्का रद्द गर्ने निर्णय भएको दुरी भित्र हुलाकी सडक निर्देशानालय इटहरीले खाल्डा पुर्ने तथा दैनिक पानी हाल्ने निर्णय समेत भएको छ । निर्माण कम्पनीले ध्यान नदिएको भन्दै बारम्बार यो सडकको विषय विवादित बन्दै आएको थियो । बिहीबार भने सडकमा ढाट लगाएर स्थानीयले अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी कट्टेलको अध्यक्षमा स्थानीयसँग बैठक बसेर निष्कर्ष निकालेको हो ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङका प्रहरी प्रमुख कबित कटुवाल, हुलाकी सडक इटहरी योजनाका प्रमुख युवराज पोखरेल, इन्जिनियरहरु उपेन्द्र दास र सरेन्द्र यादवसँगै स्थानीयहरु मृत्युन्जय कुमार झा, अरविन्दकुमार शर्मा, अनुराग पोद्दार, मो.जमसेद आलम, राम खत्री र गायत्रीप्रसाद ढकालको उपस्थिति रहेको थियो ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले भने संघीय सरकारले तत्कालै ठेक्का रद्द गरेर छिटो तरिकाले अर्को ठेक्का व्यवस्थापन नगर्दासम्म जिल्लामा भएका सहमतिले मात्रै निकास नदिने बताउनुभयो । उहाँले संघीय सरकारको योजना कार्यन्वयन ढिला हुँदा स्थानीय नागरिकले भोग्नु परेको सास्तीले आफूमाथि दवाव बढेको बताउनुभयो । हुलाकी राजमार्ग रतुवा देखि केशलिया अन्तर्गत मोरङको ४४ किलोमिटर दुरी पर्दछ । जसमध्ये २०७६ सालमा दुई वर्ष भित्र काम सक्ने भन्दै ठेक्का लिएको श्रेष्ठ कन्ट्रक्सनले ६ किलोमिटरको काम नगरी सम्पर्कमै नरहेको हो । यो क्षेत्र कटहरी गाउँपालिकाको हाटखोलास्थित सिंघीया खोलादेखि रामचौकसम्मको भागमा पर्दछ ।
