विराटनगर । गत असोज २१ गतेको साँझदेखि, वेपत्ता मोरङ लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव कार्तिक ७ गते फेला प¥यो । घरदेखि नजिकै पीङ हालेको स्थानमा अन्तिम पटक देखिएकी गौतमको वेपत्ता भएको १८ दिनपछि शव बरामद भएको थियो । शव बरामद भएको स्थान बेलबारी–चिसाङ साझेदारी वनभित्र हो । अंशुलाई अन्तिम समयमा देखिएको बिन्दुबाट जिपिएस लोकेसन ३ किलोमिटर हो, भने स्थलमार्ग हुँदा साढे चार किलोमिटर दुरीमा पर्दछ ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार बालिका हराएको दिनदेखि नै प्रहरी गम्भीर रुपमा अनुसन्धानमा छ । तर, शव बरामद भएपछिको दिनमा प्रहरीका चारवटा टोलि फिल्डमा खटिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी कार्यालय धरान र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलि छ । फिल्डमा खटिएको टोलिका सदस्य अनुसन्धानमा पोख्त मानिन्छन् । प्रहरीले विशेष घटना अनुसन्धानका लागि तयार पारेको टिम छ । तर, पनि शव बरामद भएको १७ दिनसम्म प्रहरीले गौतम हत्या प्रकरणमा कुनै क्लू बारे जानकारी पाएको छैन ।
चुपचाप प्रहरी घटनास्थलमा खटिरहेको छ । प्रहरीले स्थानीयस्तरमा सोधपुछका चरण सिध्याएको छ । जसमा स्थानीय राजनीतिक दलदेखि, विभिन्न क्लव, छरछिमेक, आफन्त समेत बाँकी राखेको छैन । घटना अनुसन्धानमा खटिनु भएकी प्रहरी नायव उपरीक्षक एवं मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलका अनुसार स्थानीयले अनुसन्धान टुङ्ग्याउनुपर्ने दवाव दिइरहेका छन् । तर, प्रहरी अनुसन्धान केन्द्रीत रहेर गरिने गतिविधिमा भने उनीहरुले चित्त बुझाइरहेका छैनन् । अपराधको घटना अनुसन्धानमा समाजका सबै नागरिक सहयोगी बन्नुपर्ने प्रहरीको बुभाई छ, तर लेटाङमा सहयोगका लागि गरिने सामान्य सोधपुछमा समेत झर्कोफर्को शैली देखिने गरेको छ ।
अर्को कुरा, वेपत्ता भएको १८ दिनपछि क्षतविक्षत अवस्थामा शव फेला परेका कारण पनि प्रहरीलाई असहज भएको हो । प्रहरी उपरीक्षक कटुवालको भनाई अनुसार शव ‘डिस्कम्पोज’ हुँदा त्यसबाट प्रमाण संकलन गर्न जटिल पर्दछ । जुनसुकै देशमा पनि अनुसन्धान अधिकारीका लागि जटिल अवस्था मानिने प्रहरी उपरीक्षक कटवालको भनाई छ ।
अंशुको हत्या भएको सत्य हो तर हत्यामा संलग्नको तथ्यमा प्रहरी पुग्न सकिरहेको छैन । उनको हत्या हुनु अगाडी अन्य अपराध पनि जोडिएका हुनसक्ने अनुमान भनेको शरीरका कपडा छुट्टै हुनु हो । त्यसपछि मृत नाङ्गो शरीर रहेका कारण कुनै जनावरको शिकार भएर अलगअलग भएको हो की अपराध गर्नेबाट अलगअलग बनाइएको हो भन्ने समेत अहिलेसम्म यकिन भएको छैन ।
प्रहरीको विधी विज्ञान प्रयोगशालाबाट अहिले डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदन आइसकेको छैन । तर, प्रहरीलाई घटना अनुसन्धानमा अर्को जटिल समस्या भनेको लेटाङ क्षेत्रमा रहेको टेलिकमको सिंगल टावर समेत हो । जसले गर्दा एउटै टावर वरिपरि सबैको लोकेशन ट्रेस हुँदा समस्या परिरहेको छ ।
प्रहरीको अहिलेसम्मको निष्कर्ष भने–घटनामा एकजना मात्रै व्यक्ति संलग्न रहेको हुनुपर्ने छ । जसका कारण यो रहस्यमय बनिरहेको छ । तर, त्यो एकजना संदिग्धसम्म प्रहरीलाई पुग्न कठिनाई परिरहेको प्रवक्ता चुडाँलको भनाई छ ।
उनको हातमा मोवाइल थिएन । त्यस कारण उनी कहाँनेरबाट गायब भइन भन्ने पनि यकिन हुन सकिरहेको छैन । बेपत्ता भएको १८ दिनपछि जंगलमा स्थानीयले भेटेका थिए, प्रहरीले त्यो स्थानमा पुगेर घाँसदाउरा गर्नेसँग समेत मिहीन ढंगले बुझिरहेको छ । प्रहरीले अहिले डिजिटल फरेन्सिक ल्याबबाट आउने रिपोर्ट पर्खिरहेको छ । त्यो भनेको अंशु हराएको बिन्दुबाट शव बरामद भएको बिन्दुसम्मको संलग्नले मोवाइल प्रयोग गरेको त्यसको प्रमाण हो ।