सोनु साह
विराटनगर । कोशी अस्पताल विराटनगरको परिसरमा दुई ठूला भवन एकसाथ निर्माणका चरणमा छन् । अस्पतालको मेडिकल भवन निमार्ण कार्य तथा आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि निर्माण हुँदै आएका दुई भवनका कारण दैनिक सेवा प्रवाहमा कठिनाई हुँदै आएको छ । दुवै भवनको निर्माण कार्य समयमै नसकिँदा अस्पतालमा उपचार सेवा झनै अव्यवस्थित बन्दै गएको छ। ५ सय शैयाको मेडिकल भवन र २५९ शैयाको आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी भवन निर्माणमा भएको निरन्तर ढिलाइले अस्पतालको दैनिकी सेवा प्रभावित भएको हो।

संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत निर्माणाधीन ५ सय शैयाको मेडिकल भवन केसी ग्रुपले निर्माण गर्दै आएको छ। २०७९ साल पुष १३ गते सम्झौता भएअनुसार २०८२ पुष १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति २५ प्रतिशत मात्र पुगेको छ। वित्तीय प्रगति २९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
कर सहित दुई अर्ब ४५ करोड ९५ लाख ८० हजार ९ सय २० रुपैयाँ लागतमा निर्माण भइरहेको भवन सघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको मातहतमा छ। कार्यालय प्रमुख सुरेन्द्र कुमार साहका अनुसार मेडिकल भवन निर्माण स्थल खाली गराउन मात्र करिब एक वर्ष लागेकाले काममा ढिलाइ भएको हो। “अहिले काम तीव्र गतिमा भइरहेको छ, केसी ग्रुपको कार्यक्षमता अहिले सन्तोषजनक देखिएको छ,” साहले बताए। उनका अनुसार मेडिकल भवनको म्याद दुई महिनामा समाप्त हुन लागेकाले म्याद थपेर बाँकी काम अघि बढाइनेछ।
यता २५९ शैयाको आईसीयू–सर्जरी–कार्डिक–न्युरो तथा नेफ्रोलोजी भवन निर्माणमा भने झनै लापरबाही देखिएको छ। २०७८ असार ३० गते रमन-भूमि-बिआईपीएल जेभीसँग सम्झौता भएको यस भवनको दोस्रो म्याद २०८० कात्तिक ३० सम्म थपिएको थियो। तर हालसम्म भौतिक प्रगति ६० प्रतिशत मात्र पुगेको छ। दोस्रो म्यादको अन्तिम मिति २०८२ कात्तिक ३० गते अर्थात् अब दुई दिनमै सकिँदैछ। प्रमुख साहका अनुसार म्याद समाप्त भएपछि कम्पनीलाई पेनाल्टी सहित दबाबमा राखेर काम गराइनेछ। “ढिलाइ रोकिएन भने ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ,” उनको भनाइ छ।
भवन निर्माणमा भएको ढिलाईले अस्पतालमा दैनिक सेवा प्रवाहमा कठिनाई झनै बढेको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताइन्। उनका अनुसार टिकट काउन्टर थप्नसम्मका लागि पनि ठाउँ अभाव छ। “दैनिक हजारौं बिरामी आउने अस्पतालमा समुचित भवन नहुँदा सेवा विस्तार त टाढाको कुरा, अहिले उपलब्ध सेवासमेत व्यवस्थापन गर्न हम्मे परेको छ,” उनले भनिन्।
अहिले अस्पतालमा निर्माणाधीन दुवै भवन समयमै सकिएमा सेवाको स्तरोन्नति, सेवा विस्तार तथा व्यवस्थापन सहज हुने अस्पताल प्रशासनको भनाइ छ। तर निर्माण ढिलाइका कारण कोशी अस्पतालका बिरामीहरूलाई अझै केही वर्ष अव्यवस्थित सेवाको मार सहनुपर्ने देखिन्छ।