विराटनगर । जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने अराजक समूहका २१ जना पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी एवं तोडफोड गरिएको थियो । आगजनी र तोडफोड गरेर थुनुवा भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो ।
भदौ २४ गतेको अपराधिक घटनामा संलग्नहरु अहिले धमाधम पक्राउ पर्न थालेका हुन् । विराटनगर र जहदाबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् । पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । एसपी कटवालले भदौ २४ गतेको घटनामा संलग्नको विवरण अझै पनि संकलन गर्ने काम भइरहेको बताए । ‘सीसी क्यामेरा फुटेज, भिडियो र फोटोलगायतका प्रमाणको आधारमा विध्वंस मच्चाउनेहरुको पहिचान गर्ने काम भइरहेको छ । पहिचान भइसकेकालाई पक्राउ गरेर कानुनको दायरामा ल्याइसकियो,’ उनले भने ।
आगजनी एवं तोडफोड गरेर विध्वंस मच्चाउने अराजक समूहका अन्य व्यक्तिहरुको पहिचान, खोजी र पक्राउका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । विध्वंस मच्चाउने समूह प्रहरीको निगरानीमा रहेको एसपी कटवालले बताए ।
आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेर सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मल ध्वस्त पारिएको थियो । विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना गर्न उक्साउनेलाई पनि कारबाही गरिने छ ।
‘