विराटनगर । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार लिम्बू अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले मागेको धरौटीबापतको १० हजार रूपैयाँ तिर्न नसकेपछि उनलाई गत साउन १४ गते कारागार चलान गरिएको थियो । प्रशासनको आदेश अनुसार मोरङ कारागार चलान गरिएका लिम्बूको मुद्दा विचाराधीन छ । आफूविरुद्धको मुद्दाको टुंगो लाग्न नपाउँदै उनको भने मृत्यु भएको छ । जेलर ढुंगेलका अनुसार सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति ८ बजेतिर विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान १० बजेतिर लिम्बूको मृत्यु भएको जानकारी उनले दिए । उनको शव पोष्टमार्टमको लागि शव कोशी अस्पतालमा राखिएको छ ।