विराटनगर । गछिया युवा समाजले आगामी मंसिर १५ गतदेखि प्रथम गछिया गोल्डकप–२०८२ गर्ने भएको छ । “लागुऔषधले लिन्छ ज्यान, स्वस्थ रहन खेलकुदमा ध्यान” भन्ने मूल नारासहित सुरु हुने यो प्रतियोगिता गछिया खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म सञ्चालन हुनेछ।
समाजका अध्यक्ष सरोज दाहालका अनुसार युवाहरुलाई खेलमा जोड्ने तथा सुन्दरहरैंचालाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले गोल्डकपको आयोजना गर्न लागिएको हो । उनले राष्ट्रिय स्तरमा सक्षम युवा खेलाडी तथा टिम उत्पादनमा यस आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा एक विदेशी टिमसहित जम्मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। खेलको विजेता टिमले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितालाई भव्य र सफल बनाउन भौतिक तथा आर्थिक सहयोग आवश्यक रहेकोले गछिया युवा समाजले स्थानीयवासी तथा शुभेच्छुकहरुसँग सहयोगको अपेक्षा व्यक्त गरेको छ।