विराटनगर । विराटनगरमा १० वर्षमुनिका बालक–बालिकालाई लक्षित गर्दै आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा तीनदिने प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता मंसिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। खेलहरू विराटनगर–३ दुर्गाचोकस्थित लायन्स क्रिकेट एकेडेमीको मैदानमै सञ्चालन भइरहेको एकेडेमीले जानकारी दिएको हो। बालबालिकामा खेलप्रतिको रुचि, सक्रियता र उर्जा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजित गरिएको आयोजकको भनाइ छ।

एकेडेमीका संस्थापक कुन्दन खतिवडाका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई फ्रि स्कॉलरसीपमार्फत एकेडेमीमा निःशुल्क क्रिकेट तालिम प्रदान गरिनेछ। “बालबालिकाको प्रतिभा पहिचान र विकास नै हाम्रो लक्ष्य हो,” खतिवडाले बताए।


यो प्रतियोगिता लगातार तेस्रो वर्षदेखि आयोजना गर्दै आएको एकेडेमीले जनाएको छ। १० वर्षमुनिका खेलाडीका समूहगत सहभागिता रहने प्रतियोगितामा एक टिममा १० जना खेलाडी रहनेछन्। खेल कुल ६ ओभरको हुनेछ। विजेता र उपविजेता टिमलाई कप तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ। महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी प्रतियोगिता सञ्चालन गरिएको छ।