विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ मा काकासँग बस्दै आएकी भतिजी बुहारीले विष मिसाएर खाना खुवाउँदा काकी सासुको मृत्यु भएको छ । सिंहदेवी टोलमा बुहारी ३२ वर्षीया सुनिता कार्कीले ७० वर्षीया भक्तबहादुर राई र ७७ वर्षीया इन्द्रामाया राईलाई खानामा विषय मिलाएर खुवाएको खुलेको हो ।
प्रहरीले बुहारी सुनितालाई पक्राउ गरेको छ । उनले विष हालेर खाना खुवाएको खुलेको छ । गत शनिबार दिउँसो ७० वर्षीय भक्तबहादुर राई घरनजिक बेहोस भेटिएका थिए । उनलाई घरमा लिएर आउँदा ७७ वर्षीया इन्द्रमाया राई समेत अचेत थिइन् । मोरङ प्रहरीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार दिउँसो ३ बजे दुवैजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा राती इन्द्रामायाको मृत्यु भएको थियो ।
आईसीयूमा उपचाररतमध्ये इन्द्रमायाको राति मृत्यु भएपछि बुहारी सुनिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर सातको म्याद थप गरिकन अनुसन्धान थालेको छ । वृद्ध अवस्थाका ससुरा भक्तबहादुरको उपचार भइरहेको छ । खोल्सामा बेहोस भेटिएका उनी र घरमै अचेत भेटिएकी उनको श्रीमतीलाई एकसाथ के असजिलो भयो भनेर नियाल्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरेको भेटिएका थिए ।
त्यसपछि प्रहरीले विष खुवाएको हुनसक्ने अनुमान गरेको थियो र घरभित्रको अगेनोमा विषयको बट्टा समेत बरामद भएको थियो । त्यसपछि भतिजी बुहारी सुनीता कर्तव्य ज्यान मुद्दा चलाउने गरी म्याद थप गरेर अनुसन्धान थालिएको हो ।