विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले आगामी फागुन २१ गतेको निर्वाचन गराउन ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका डिआईजी घिमिरे कोशी प्रदेशको सुरक्षा जिम्मेवारी लिएर आएपछि बिहीबार पत्रकारसँग अन्तरक्रिया गरेका हुन् ।
त्यस क्रममा उनले अबको जिम्मेवारी निर्वाचन केन्द्रीत शान्तिसुरक्षाको रहेको बताएका छन् । डिआईजी घिमिरेले सशस्त्र हतियारधारी समूहले निर्वाचन बिथोल्ने अवस्था नरहेको बताए । बाँकी जेनजी आन्दोलनपछिको स्थिति कानुन मुताविक काबुमा आइसकेको डिआईजी घिमिरेको भनाई थियो ।
उनले सुरक्षा चुनौती रहेका विषयमा समेत प्रहरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नसक्ने दावी गरेका छन् । निर्वाचन केन्द्रीत सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको उपलब्धता प्राप्त भइरहेको उनले बताए । उनले कोशीमा जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीहरु धमाधम पक्राउ परिरहेका र बाँकीको समेत खोजतलास भइरहेको उनको भनाई छ । डिआईजी घिमिरेले निर्वाचन गराउन प्रहरीको मनोबल उच्च हुनुपर्ने कुरामा सहमत जनाएका छन् । तर, कोशी प्रदेशका धेरै जिल्ला भ्रमण गर्दा प्रहरीमा मनोबल कमजोर नदेखिएको उनले बताएका छन् ।
यसैगरी डिआईजी घिमिरेले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरीका संरचना, ट्राफिक लाइट तथा सिसी टिभी जस्ता साधनको क्रमशः व्यवस्थापन मिलाउँदै जाने बताएका छन् । त्यस बाहेक सहरी क्षेत्रमा अत्याधित बढेका सिटी सफारीको व्यवस्थापनका लागि सुरक्षित चालक अभियान सुरु गर्ने तयारी रहेको सुनाए । त्यसमा सिटी सफारीको अवस्था, चालकसँग भएका कागजातको निरीक्षण गरेपछि चालकलाई सुरक्षित चालक लेखेको पोशाक उपलब्ध गराउने तयारी गरिएको छ ।