संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपालले सोमबार आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपाली टोलीले दोस्रो खेल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दुबईस्थित द सेभेन्स स्टेडियममा नेपाली समय अनुसार, बिहान १०:४५ बजे शुरू हुनेछ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा अर्को बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग आठ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।
उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० मध्ये २८.५ ओभरमै अलआउट हुनुअघि ८२ रनमात्र बनाउन सकेको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीले १४.५ ओभरमै केवल दुई विकेट गुमाएर ८४ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
श्रीलंकाविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यानले निकै खराब प्रदर्शन गरेका थिए । नेपालका लागि सिबरिन श्रेष्ठले सर्वाधिक १८ रन बनाएका थिए ।
आफ्ना कुनै पनि ब्याट्सम्यानले बनाए भन्दा बढी रन नेपाली टोलीले अतिरिक्त रूपमा पाएको थियो । नेपालले अतिरिक्त रूपमा १९ रन पाएको थियो ।
समूह ‘बी’ मा चारवटै टोलीले एक–एक खेल खेलेका छन् । दुई अंकसहित श्रीलंका पहिलो र समान अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छन् ।
बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई तीन विकेटले हराएको थियो । खाता खोल्न नसकेका अफगानिस्तान र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
यू–१९ एसिया कपको यो १२ औं संस्करण हो । प्रतियोगिता डिसेम्बर १२ तारिखसम्म सञ्चालन हुनेछ । यू–१९ एसिया कप ५० ओभरको खेल हो ।
प्रतियोगितामा नेपालसहित आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, मलेसिया र आयोजक यूएई छन् ।
नेपालले आफ्नो तेस्रो खेल डिसेम्बर १७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप–विजेतासँग भिडन्त गर्नेछ । समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उप–विजेताबीच अर्को सेमिफाइनल खेल खेलिने छ ।
दुवै सेमिफाइनल खेल डिसेम्बर १९ तारिखमा हुनेछ । सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच डिसेम्बर २१ तारिखमा उपाधिका लागि भिडन्त हुनेछ ।
बंगलादेश प्रतियोगिताको साबिक विजेता हो । सन् २०२४ मा सम्पन्न ११ औं संस्करणको फाइनलमा बंगलादेशले भारतलाई ५९ रनले हराउँदै उपाधि चुमेको थियो ।
भारतले हालसम्म आठपटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ । बंगलादेशले पनि दुईपटक उपाधि चुमेको छ । पाकिस्तान र अफगानिस्तानले पनि एक–एक पटक उपाधि हात पारेका छन् ।
सन् २०१२ को फाइनल खेल भारत र पाकिस्तानबीच खेलिने कार्यक्रम थियो । तर, खेल सम्भव नभएका कारण दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिएको थियो ।
नेपालले यसअघि नौपटक यू–१९ एसिया कपमा सहभागिता जनाइसकेको छ । सन् २०१२ मा नेपालले पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।