काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् । शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गरेका हुन् । भेटका क्रममा उनले शहीद परिवारप्रति सम्वेदना व्यक्त गरे ।

लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आमहत्या हो । शहीद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले सरकारको भूमिकाप्रति पनि टिप्पणी गर्दै सुशासन कायम गर्न आवश्यक परे सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताए । कारागारबाट हिजो मात्रै रिहा भएका उनी चितवनबाट केही बेरअघि काठमाडौं आइपुगेका थिए ।