विराटनगर। कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ बैंक लिमिटेडले नेपालभर रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ। स्वास्थ्य सेवामा सहयोग पुर्याउने तथा सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यसहित बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो।
बैंकका अनुसार रक्तदान आकस्मिक शल्यक्रिया, दुर्घटनाका पीडित, जलेका बिरामी तथा एनेमिया र ल्युकेमियाजस्ता रक्तसम्बन्धी रोगबाट पीडित व्यक्तिहरूको उपचारका लागि अत्यावश्यक रहेको छ। रक्तको निरन्तर बढ्दो मागलाई ध्यानमा राख्दै बैंकले सातै प्रदेशमा न्यूनतम एक–एक वटा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कोशी प्रदेशअन्तर्गत विराटनगरस्थित गोल्छा चोक को बिराटनगर शाखामा आज आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रक्त सङ्कलन गरिएको छ। कार्यक्रममा बैंकका कर्मचारीहरू तथा इच्छुक दाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। यसैगरी, अन्य प्रदेश तथा उप–प्रदेश कार्यालयहरूले पनि आ–आफ्नो कार्यक्षेत्रभित्र निर्धारित समय र स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गर्नेछन्।
सिद्धार्थ बैंकले सबै कर्मचारी, सरोकारवाला तथा नागरिकहरूलाई यस्ता मानवीय कार्यमा सक्रिय सहभागिता जनाई जीवन बचाउने अभियानमा योगदान दिन आग्रह गरेको छ। बैंकले आफ्नो २३ वर्षे स्थापना दिवसको अवसरमा सेवा, करुणा र सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै समाजमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।