विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिना र कोशी प्रदेशका प्रवक्ता कमल बाबु मैनालीसहितका नेताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा स्थापना भएको उज्यालो नेपाल पार्टीमा उनीहरूको औपचारिक प्रवेश भएको हो।
उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेहरूमा कोशी प्रदेशका संस्थापक सभापति तथा प्रदेशस्तरीय विस्तारित बैठकबाट निर्वाचित राजेश तिम्सिना रहेका छन्। साथै, विवेकशील साझा पार्टीका पूर्व युवा संयोजक सरोज नेपाल जो अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार थिए र कमल बाबु मैनाली अघिल्लो निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार थिए । आज पार्टी प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नयाँ पार्टीमार्फत सुशासन, पारदर्शिता र विकासमुखी राजनीतिक एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। उज्यालो नेपाल पार्टीले आगामी दिनमा संगठन विस्तार र जनतामाझ वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने बताएको छ।