काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफ्नो स्थानहदबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आफूले स्थानहदबारे संचारमाध्यममार्फत थाहा पाएको बताए ।
‘मेरो स्थानहद्बारे मलाई थाहा नै छैन् । कुन कानुनमा टेकेर, केका आधारमा गरियो, किन गरियो, मलाई थाहा छैन् । कानुन बमोजिम अधिकार सरकारले प्रयोग गर्न पाउँछ । कानुन बमोजिम गर्ने कुरामा केही आपत्ति छैन तर स्थानहद् किन, के का लागि, के कारणले, कति समयका लागि भनेर मलाई सोध्नु पर्छ कि पर्दैन ?’, उनले भने । स्थानहद हाल कायम छ या छैन पनि आफूलाई थाहा नभएको पनि जानकारी दिए । पासपोर्ट रोक्काको विषयमा पनि आफूलाई थाहा नभएको बताए । उनले स्थानहद र पासपोर्ट रोक्काका विषयमा जाँचबुझ आयोगले आफूलाई जानकारी नदिएको बताएका हुन् ।
उनले भने, ‘मलाई देशको संविधान वा अन्य प्रचलित कानुनको कुन व्यवस्था अनुसार, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि, किन स्थानहद र राहदानी रोक्का गरेको हो, कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएको छैन । नत मलाई यसबारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ । यो विषय निर्णय गर्नु पूर्व र पछि पनि मैले विधिवत रूपमा जानकारी पाउनुपर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तभित्र नै पर्ने हो भन्ने मलाइ विश्वास थियो । तर त्यो भएन । बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत समेत हुन् । तसर्थ यसतर्फ आयोग र सरकारसहित सबै निकायलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’