काठमाडौं । पछिल्लो समय नेपालमा नाटक अर्थात रंगमन्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रंगमन्च निर्माणमा उल्लेख्य भूमिका खेलेका वालकृष्ण समको समयदेखि नेपालमा नाट्य क्षेत्र चर्चामा छ । चलचित्र आउनुभन्दा अगाडिदेखि डबलीमार्फत नाटक मञ्चन गर्ने चलन थियो । पछिल्लो समय सिनेमा हल छिर्ने दर्शकहरु रंंगमन्चतिर सोझिन थालेका थिए ।
समाज डोहोर्याउने खँदिला विषयबस्तु पस्किएका रंगकर्मीहरुले नेपाली मात्र नभइ अन्तर्राष्ट्रिय जगतमा पनि आफूलाई उपस्थित गराउँदै आएका छन् । व्यवसायिक रुपमा उल्लेख्य प्रगति नगरेपनि रंगमन्चमा लगानी र आकर्षण भने बढ्दो छ । आरोहण गुरुकुल, सर्वनाम थिएटर, शैली थिएटर, शिल्पी थिएटर, पुरानो घर थिएटर, किर्तीपुर थिएटर, कौशी थिएटर लगायतका नाटकघर काठमाडौमा चल्तीमा छन् । काठमाडौं वाहिरपनि नाटकघर खुलेका छन् । जसका कारण नाटकप्रति आकर्षण बढ्दो छ ।
यद्यपि, सन् २०२५ रंगमन्चका लागि उत्तिसारो फलिफाप रहेन् । कोभिड महामारीपछि लयमा फर्किदै गएको नेपाली समाजमा अस्थितर राजनीतिका कारण केही असहज परिस्थिति निर्माण भयो जसले रंगमन्च क्षेत्रपनि प्रभावित भएको देखिन्छ । वितेको वर्ष ‘कर्तव्य’, ‘जब फूलले आकार लिन्छ..’‘हराएको कुकुर’, ‘न्यायको सपना’, ‘बहादुरपुरको दन्त्यकथा’, ‘मिलारेपा’ जस्ता नाटकहरु चर्चामा रहे । अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ मा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’, ‘काण्डता र शकुन्तला’ र ‘मिलारेपा’ शिर्षकको नाटकहरु प्रस्तुत भए । यसमध्य ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाटक पितृसत्तात्मक सोच र परम्परा परिवर्तनको विषयमा आधारित सामाजिक नाटक हो ।
अभिनेत्री पशुपति राईको परिकल्पना तथा निर्दशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको हो । ४० भन्दा बढी नाटकहरूमा उनको उल्लेखनीय अभिनयहरू बाघभैरव, मास्टर बिल्डर, ओडिपस र एन्टिगोन समावेश छन् । नेपालको रंगमञ्चको परिदृश्यले समृद्ध सांस्कृतिक सम्पदा र विकसित हुँदै गइरहेको समकालीन परिदृश्यलाई प्रतिबिम्बित गर्दछ । गाइजात्रा प्रदर्शन र दोहोरी जस्ता लोक परम्पराहरूमा जरा गाडेको नेपाली रंगमञ्च सामाजिक संवादको लागि एक मञ्चको रूपमा विकसित भएको छ ।