रौतहट । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ। चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो । मृतकको टाउको काटिएको शरीर भेटिए पनि टाउको नभेटिएपछि अब पोखरीमा जाल हानेर खोजी गर्न लागिएको उनले जानकारी दिए । डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
प्रहरीले वन रक्षक महतोको हत्या आशंकामा गाउँकै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । तर प्रहरीले यसबारे आधिकारिक जानकारी दिएको छैन् ।शनिबार बिहान ५ बजेतिर जङ्गलमा रुख काटिएको आवाज सुनेपछि महतो त्यतातिर गएका थिए। दिउँसोसम्म पनि घर नफर्किएको र मोबाइल फोन समेत ’स्वीच अफ’ भएपछि परिवार र छरछिमेकीले खोजी गर्ने क्रममा उनको विभत्स शव भेटिएको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए। घरदेखि करिब ५०० मिटर टाढा परियोजनाको जङ्गलभित्र टाउको काटिएको अवस्थामा शव फेला परेको उनको भनाइ छ । घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त दुईवटा कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाइएको छ । वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।यस घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।