रंगेली। मोरङको रंगेली नगरपालिका–७ मा रहेको श्री संसारीमाई मन्दिरमा चोरी भएको छ । मन्दिरमै चोरी भएपछि धार्मिक स्थलहरूको सुरक्षा माथि गम्भीर प्रश्न उठेको हो ।
रातको समयमा मन्दिरको च्यानल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरी चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ। मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडेर त्यहाँभित्र रहेको नगद चोरी भएको हाे । चोरीमा संलग्नको पहिचान हुन सकेको छैन । भक्तजनको विश्वास, आस्था र श्रद्धासँग जोडिएका बहुमूल्य सामग्री रहने भएकाले यस्ता स्थान चोरको निशाना बन्दै गएको स्थानीयहरूको गुनासो रहेको छ ।प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि सिसी टिभी फुटेजबाट प्रमाण संकलन गरिरहेको बताएको छ । प्रहरी स्रोतका अनुसार चोरी योजनाबद्ध देखिएकाले घटनामा एक्लो व्यक्तिभन्दा समूहको संलग्नता हुन सक्ने सम्भावना धेरै छ ।
स्थानीयले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरेर सार्वजनिक गरी कडा कारबाही गर्न माग गरेका छन् । संसारीमाईमा भएको चोरीले धार्मिकस्थलको सुरक्षा मन्दिर व्यवस्थापनको जिम्मेवारी मात्रै नभएर राज्य र समाज दुवैको साझा दायित्व हो भन्ने सन्देश दिएको छ ।