काठमाडौं । इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ । निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ ।
पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने पदयात्रा सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु भई पूर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै इलाम नगरपालिकाको माईस्थान मन्दिरमा समापन हुनेछ । ४१ किलोमिटर लामो उक्त पदमार्ग प्राकृतिक सौन्दर्य, गाउँजीवन र ऐतिहासिक स्थलसँग जोडिएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार पदमार्गले इलामलाई नयाँ पदयात्रा गन्तव्यका रूपमा चिनाउन सहयोग पु¥याउनेछ । ‘यो पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई इलामतर्फ आकर्षित गर्ने विश्वास लिएका छौँ,’ उनले भने । नेपाल–भारत सीमासँग जोडिएको मेची नदीको मुहानदेखि माईस्थान मन्दिरसम्म फैलिएको यो मार्ग ऐतिहासिक महत्व बोकेको भए पनि पछिल्ला वर्षमा यसलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्न थालिएको छ ।
पदयात्राका क्रममा स्थानीय होमस्टे, कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । पदयात्रामा नेपाली सेना, स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता रहने छ । पदमार्गअन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जातजातिको सांस्कृतिक झाँकीसहित पदयात्रीको स्वागतको तयारी गरिएको छ । रणशार्दूल गणको पहल र तीन पालिकाको सहकार्यमा पहिचान गरिएको निसान पदमार्गलाई दीर्घकालीन पर्यटन उत्पादनका रूपमा विकास गर्ने तयारी भइरहेको जनाइएको छ । स्थानीय तहका अनुसार पदयात्राले इलामको ग्रामीण पर्यटन, आन्तरिक रोजगारी र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।