विराटनगर । नेपाली काँग्रेसको विशेष महाधिवेशन विकल्प नरहेको भन्दै कोशी प्रदेशका आठ जिल्लाका सभापतिले शनिबार एक अपिल जारी गरे । जसमा मोरङका डिगबहादुर लिम्बु, झापाका देउमान थेबे, खोटाङका विष्णु कुमार राई, पाँचथरका रुपनारायण जबेगु, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ सुब्बा र संखुवासभाका का.बा. सभापति अनन्तकुमार गौली थिए । उनीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला निकट हुन् ।
शनिबार साँझ उनीहरुले विज्ञप्ती जारी गरेपनि विशेष महाधिवेशनमा नजाने भनिएका केहि व्यक्तिहरु पुगे । जसमा डाक्टर शेखर कोइराला पक्षधर मानिएका केदार कार्कीले अन्तिम समयमा लाइन क्लियर गरिदिए । डाक्टर शेखर विशेष महाधिवेशनको पक्षमा थिएनन् । उनी नहुँदा उनको क्षेत्रबाट कसैलाई पनि सहभागी नगराउने पक्षमा थिए । त्यसको अगुवाई पनि कार्कीले लिइरहेका थिए । तर, अचानक उनी आइतबार शेखरलाई क्रस गरेर महाधिवेशनस्थल पुगेका छन् र खुलेका पनि छन् ।
मोरङबाट १५९ जना महाधिवेशन प्रतिनिधिमध्ये दिउँसो ४ बजेसम्मको संख्या कम नै रहेको बताइन्छ । विराटनगर महानगरपालिकाका नगरसभापति दिपक चापागाँईका अनुसार हस्ताक्षर नगरेकामध्ये क्षेत्र नम्बर ६ बाट केदार कार्की र उनले अर्का एकजना प्रतिनिधि लिएर पुगेका छन् । त्यस बाहेक क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनिल शर्मा भने मध्यमार्गी बाटोबाट समाधान खोज्ने लाइन लिएर मात्रै त्यहाँ पुगेको उनको दावी छ । उनका अनुसार मोरङका ५५ जना आसपासले हस्ताक्षर गरेका छन् ।
विराटनगरका पूर्व मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली, काँग्रेसका नेता तथा प्रदेश स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, महानगरपालिकाका प्रमुख नागेश कोइराला समेत हस्ताक्षर नगर्नेमा छन् । उनीहरु महाधिवेशनस्थलमा भए÷नभएको चापागाँईले यकिन नभएको बताए । चापागाँईका अनुसार अहिले लामो समयदेखि अभियान चलाउँदै आएका खड्ग फागो, बिश्वनाथ रिजाल, सुयर्माराज राई, गुरुराज घिमिरे तथा महेश आचार्य, केदार कार्की, अमृत अर्याल, यदु विष्ट भने विशेष महाधिवेशनमा गएका छन् ।
काँग्रेस पार्टीका कार्यकर्ता आउने भनेपछि महाधिवेशनस्थलमा त म पनि छु, चापागाँईले भने–उपस्थित भएका सबै विशेष महाधिवेशन पक्षधर प्रतिनिधि नहुन पनि सक्छन् । तर, विशेष महाधिवेशनको बाटो पास भएपनि यसमा सबैलाई अटाउने काँग्रेस पार्टी हुने उनको बुझाई छ । उनले भोलिसम्ममा केहि न केहि नयाँ चरणमा प्रवेश गर्नेमा विश्वास व्यक्त गरेका छन् । देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ४९.३४ प्रतिशतले हस्ताक्षर ४ बजेसम्म गरेको दावी छ । यो संख्या २३४० हुन आउँछ। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ।