विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग यही शुक्रबारदेखि विराटनगरको मेरिवोन–विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगरसहित समग्र कोशी प्रदेशमा क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले लिग आयोजना गर्न लागिएको बताए। उनले कोशी प्रदेशमा पहिलो पटक सबै वर्गका खेलाडीलाई समेट्ने नयाँ ढाँचामा क्रिकेट लिग आयोजना हुन लागेको उल्लेख गरे।
लिगमा मोरङका ८ वटा क्लब सहभागी हुनेछन्, जसलाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेलाइनेछ। समूह चरणपछि दुवै समूहका शीर्ष टोलीबीच माघ १० गते फाइनल खेल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा खेलाडी चयनलाई समावेशी बनाउँदै प्रत्येक टोलीमा यु–१६ का १ जना, यु–१९ का २ जना खेलाडी अनिवार्य गरिएको छ। साथै मोरङ बाहिरका तर कोशी प्रदेशभित्रका अन्य जिल्लाबाट कम्तीमा २ र बढीमा ३ जना खेलाडी सहभागी गराउनुपर्ने प्रावधान राखिएको छ। यसले विराटनगर मात्रै नभई सम्पूर्ण कोशी प्रदेशकै क्रिकेट विकासमा टेवा पुग्ने अपेक्षा आयोजकको छ।
कोशी प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष सर्वजितराज पाण्डेले प्रदेशमा क्रिकेट गतिविधि चलायमान बनाउन नवीनतम अभ्यासका रूपमा यो लिग सुरु गरिएको बताए। उनले विराटनगर वा मोरङमा सीमित नरही अन्य जिल्लाका खेलाडीलाई समेत अवसर दिन क्लबहरूलाई अनिवार्य व्यवस्था गरिएको स्पष्ट पारे।
“क्रिकेट गतिविधि लगभग शून्य अवस्थामा रहेको बेला नेपाल क्रिकेट फाउण्डेशनसँगको सहकार्यमा प्रदेशभर क्रिकेट फैलाउने योजना बनाएका छौं,” पाण्डेले भने, “यस लिगबाट भविष्यमा कोशी प्रदेशको प्रतिनिधित्व गर्न सक्ने प्रतिस्पर्धी टोली तयार हुने विश्वास छ।”
प्रतियोगितामा करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। समूह ‘ए’ मा मिल्स क्रिकेट एकाडेमी, विराटनगर क्रिकेट एकाडेमी, इलाइट क्रिकेट एकाडेमी र विराटनगर क्रिकेट क्लब एकाडेमी रहेका छन्। यस्तै समूह ‘बी’ मा लाइन्स क्रिकेट एकाडेमी, कटहरी क्रिकेट एकाडेमी, सिद्धार्थ क्रिकेट एकाडेमी र डाइनामिक क्रिकेट एकाडेमी सहभागी हुने आयोजकले जनाएको छ।