विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा आगामी माघ १० गतेदेखि १७ गतेसम्म ‘हिसान स्पोट्र्स मिट २०८२’ सञ्चालन हुने भएको छ ।हिसान मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी साप्ताव्यापी स्पोट्स मिट हुने बारे जानकारी गराएको हो ।‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस स्पोट्र्स मिटमा मोरङ जिल्लाभरका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययनरत करिब ३२ हजार विद्यार्थीहरूमध्येबाट छनौट भएका उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेभएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै हिसान मोरङका अध्यक्ष अमित ढकालले खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन कायम राख्न, स्वस्थ नागरिक उत्पादन गर्न र उनीहरूलाई लागुपदार्थको कुलतबाट बचाउन यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फ बास्केटबल, क्रिकेट, कबड्डी तथा पुरुष र महिला दुवैतर्फ फुटबल, भलिबल, टेबल टेनिस सिङ्गल, डबल र एथलेटिक्स लामो र छोटो दुरीको दौड विधामा प्रतिस्पर्धा हुने हिसान मोरङका सचिव भुवन नेपालले जानकारी दिए ।
यस वर्ष फुटबलमा २४ टिम, भलिबलमा २० टिम र क्रिकेटमा १० टिमको सहभागिता रहनेछ। विगतको तुलनामा यस वर्ष महिला फुटबल टोलीको संख्यामा ५० प्रतिशतले वृद्धि भएको आयोजकले जनाएको छ। क्रिकेट खेल विराटनगरको जुटमिलस्थित क्रिकेट मैदानमा हुनेछ भने फुटबल सहिद रंगशालामा सञ्चालन हुनेछ। अन्य खेलहरू डीपीएस स्कुलको हातामा हुनेछन् ।
माघ १७ गते हुने समापन समारोह तथा फुटबलको फाइनल खेल सहिद रंगशालामा रात्रिकालीन समयमा फ्ल्डलाइटमा सम्पन्न गरिनेछ। विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिने हिसान मोरङले जनाएको छ ।