प्रियतावादको आडमा दबाए एजेण्डा, अहिले बालेनले ओलीलाई लगाए त्यसकै डण्डा
विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारले मनोनयन गरिसकेपछि मतदातासँग भेटघाट सुरु गरेका छन् । यस पटक निर्वाचनको केन्द्र कोशी प्रदेश बनेको छ । कारण हो, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र शाहबीच झापा क्षेत्र नम्बर ५ मा उमेदवारी !
यो निर्वाचनको चर्चा गर्नु अगाडी दोस्रो संविधानसभा निर्वाचनको सिंहालोकन गरौं । पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादी नेतृत्वमा बनेको सरकारबाट संविधान जारी हुन नसकेपछि दोस्रो संविधानसभा निर्वाचनतर्फ देश डोहो¥याउनु परेको थियो । त्यसबेला पनि माओवादीकै प्रस्तावमा अन्तरिम सरकार गठन भएको थियो । खिलराज रेग्मी मन्त्रीपरिषद् अध्यक्ष थिए ।
एजेण्डा उहि, दलहरु उहि थिए । तर, माओवादी पार्टीको एजेण्डा उठाउने शक्ति क्षयीकरण भइसकेको थियो । अर्थात, किरण–विप्लव–बादल अर्को बाटो हिँडिसकेका थिए । तर, पनि निर्वाचनमा कमजोर देखिएको थिएन, प्रचण्ड नेतृत्वको एकिकृत माओवादी । मेची–महाकाली निर्वाचन अभियान अन्तर्गत राजमार्गको सभाहरु भव्य हुन्थे । प्रचण्डको भाषणको मर्म हुन्थ्यो–संघीयता चाहने दलहरुलाई दुईतिहाई बहुमत दिँदा मात्रै अग्रगामी संविधान जारी गर्न सकिनेभयो ।
संविधानसभा निर्वाचनको मिति जति नजिक बन्दै जान्थ्यो, काँग्रेस–एमालेबीचको चुनावी तालमेल त्यति नजिक बन्थ्यो । एमालेले तय गरेको ‘काँग्रेस–एमाले’ जीताउने नारामा राप्रपा पनि घुसाइयो । जहाँ काँग्रेसका उमेदवारले निर्वाचन जित्थे त्यहाँ ‘एक भोट गाछीमा अर्को भोट बाछीमा’ र जहाँ एमालेले जित्ने संभावना हुन्थ्यो–‘एक भोट दाईलाई अर्को भोट गाईलाई’ भनेर एमालेले बढी नारा लगाएको थियो ।
प्रत्यक्षमा काँग्रेस–एमालेले जीत्दा पनि स्वतन्त्र मतहरु माओवादीको समानुपातिकमा जान रोकेर राप्रपामा रुपान्तरण गरिदिने लाइन क्लियर देखिन्थ्यो । निर्वाचनमा एमाले–काँग्रेस अगाडी आए । माओवादी तेस्रो बन्दा राप्रपाले फेरी राजा फर्काउने नारा लगाउन सक्ने शक्ति आर्जन गरेको थियो ।
त्यसपछि.........
२०७२ असोज ३ मा संविधान जारी भयो । काँग्रेस–एमालेले के शर्त राखेका थिए, त्यो अहिलेसम्म बाहिर आएको छैन । तर, भारतले अघोषित रुपमा आर्थिक नाकाबन्दी गरेर संविधानप्रति असन्तुष्टि जनाइदियो । त्यहि बेला केपी ओली आफ्नै पार्टी एमाले भित्र विद्रोहबाट स्थापीत आएका थिए । संविधान जारीसँगै भारतले गरेको व्यवहारलाई टेकेर राष्ट्रवादको नारामार्फत युवाका लागि प्रिय र झन् बलियो अनि निर्विकल्प नेतृत्व जस्तो देखिए । देशभर युवाबीच प्रिय मात्रै नभई ‘आइलभ यू केपी बा’ भन्ने नाराबाट सम्मान पाउने नेता पनि बने । तर, लामो समय चाँहि टिकेन ।
त्यो गल्ती अहिले सजाय
दोस्रो संविधानसभाबाट संविधान जारी हुँदै गर्दा तत्कालिन माओवादीको एजेण्डालाई कमजोर बनाउन उनले गरेका कतिपय कमजोरीलाई टेकेरै जेनजी आन्दोलन भयो । संविधान जारी हुँदैगर्दा माओवादीले शासकीय स्वरुपमा आफ्नो नोट अफ डिफेन्स नै लेखेको थियो । त्यस बाहेक पनि माओवादीका थुप्रै मुद्दा संविधान जारी हुँदा स्थापीत भएनन् । त्यसमध्ये न्यायपालिकाको पुर्नसंरचना, नेपाल प्रहरी र नेपाली सेनाको पुर्नसंरचना समेत थिए । त्यति मात्रै नभई राज्यको पुर्नसंरचनामा समेत माओवादीलाई कमजोर पार्ने मनसायमा काँग्रेस–एमाले देखिएका थिए ।
तर, यी एजेण्डा स्थापीत गर्न रोकेर देश बिखण्डनमा जान्छ भन्ने भाष्य त्यसबेला सबैभन्दा धेरै ओलीले स्थापीत गरेका थिए । उनको प्रियतावाद सामाजिक रुपमा यति स्थापीत भएको थियो की, अहिले बालेन÷रबि जस्तै ! ओलीले जर्बरजस्त छोड्न बाध्य बनाएका एजेण्डा नै गत भदौ २३ मा उठ्यो । संयोग यो बेला पनि काँग्रेस–एमालेको संयुक्त सरकारको दम्भमा ओली टसमस नहुने स्थितिमा थिए । ती एजेण्डामाथि ओलीले पुनः छेकबार गर्ने मनस्थिति राख्दा २३ गते ७६ जनाको ज्यान गयो, २४ गते देशको बेहाल हुनपर्यो ।
ओलीको प्रियतावाद दशवर्षमा यति कमजोर देखिन्छ । हिजो उनलाई आइलभ यू केपी बा भन्नेहरु अहिले ‘हेट लिडर’ भन्छन् । त्यहि पनि ओली आफ्नो पार्टीपंक्ति भित्र अब्बल सावित भइरहेका छन् । उनको ग्रहगोचर नै बिग्रेका बेला पार्टीपंक्ति भित्रको अब्बलताले पुनः अर्को दुर्घटना निम्त्याउने स्थिति नआउला भन्न सकिन्न ।
झापा–५ चुनाव
जेनजी आन्दोलनको पृष्ठभागका अब्बल मानिएका काठमाण्डौंका मेयर बालेन शाह अहिले केपी शर्मा ओलीसँग निर्वाचन लड्न आएका छन् । उनीप्रतिको क्रेज हेर्दा ओलीले २०६४ सालको पहिलो संविधानसभा स्मरण गर्नुपर्ने अड्कल हुन थालेको छ । तर, ओली युवाबीच प्रिय बनाइदा जसरी उनले देशलाई दिने नेतृत्व परीक्षण भइसकेको थिएन, ठ्याक्कै त्यस्तै बालेन पनि अहिले हाईहाई हुँदा देशका लागि उनको नेतृत्व परीक्षण भने भएको छैन । झापा ५ को निर्वाचनमा ओलीमाथि विजयी भएर बालेनले देशको प्रधानमन्त्री हुने आँट गरेका छन् । यो आँटलाई प्रशंसा गरेर नथाक्ने बाहेक अहिले नै केहि भन्न सक्ने स्थिति चाँहि छैन । कुरा यति चाँहि सत्य हो, माओवादीका एजेण्डा कमजोर पार्न ओलीले खेलेको भूमिकाको सजाय भने उनले अहिले पाइरहेको देखिन्छ । संविधानमा नसमेटिएका एजेण्डा नै समेटेर त्यसलाई पूर्णता दिनुपर्ने माग जेनजी पुस्ताले उठाएका छन् । त्यहि मुद्दामा बालेनले केपी ओलीलाई टक्कर दिइरहेका हुन् । झापा ५ को निर्वाचन मत परिणाम जस्तो आवोस तर संविधान जारी हुँदा छोडिएका अग्रगामी एजेण्डा फर्कियोस् ।