निर्वाचन क्षेत्र मोरङ ५ : दल खोलेर मैदानमा योगेन्द्र, नयाँ–पुराना दुवै चुनौती

<span class='c1'>निर्वाचन क्षेत्र मोरङ ५ : दल</span> <span class='c2'>खोलेर मैदानमा योगेन्द्र, नयाँ–पुराना दुवै चुनौती</span>

विराटनगर । देशभर स्वतन्त्रले जित्ने सन्देश प्रवाह भएको बेला तीनवर्ष अगाडी मोरङ क्षेत्रनम्बर ५ मा योगेन्द्र मण्डलको चुनाव चिन्ह चापाकल चर्चामा चल्यो । उनी स्वतन्त्र उम्मेदवार बनेर चापाकल चुनाव चिन्हमै प्रभावशाली दलहरुलाई पराजित गर्ने व्यक्ति बने । त्यसले उनको जीवन विकास समाजमार्फत समाज बदल्न दिइरहेको योगदानको उचाई अझै बढायो । उनै मण्डल अहिले आफ्नै पहलमा राष्ट्रिय उर्जाशील पार्टी गठन गरेर चुनावी मैदानमा छन् । मैदान त्यहि हो, मतदाता पनि तिनै । तर, स्वतन्त्र उम्मेदवारको रुपमा पाएको माया दलको उम्मेवादर बनेपछि पाउने नपाउने विषय भने निर्वाचन प्रतिक्षा नै गर्नुपर्ने छ ।

निर्वाचनको अंकगणीत फरक पार्ने धेरै प्रभाव जन्मिएका छन् । जसमा मण्डलले स्वतन्त्रबाट निर्वाचित भएर क्षेत्र भित्र गरेका कामको समिक्षा मतदाताले ब्यालेटमा गर्नेहुन् । त्यस बाहेक पुराना दलहरुको प्रभाव त्यो क्षेत्रमा अहिले पनि उतिकै छ भने नयाँ दलको चर्चाले नछोएको निर्वाचन क्षेत्र छैन । तर, पनि क्षेत्र नम्बर ५ को चुनावी अंकगणीत धेरै हिसाबले ‘प्लस–माइनस’ भइरहेको हुन्छ । यस पटक नेपाली काँग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी र जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिनेहरु त्यो क्षेत्रका लागि चिरपरिचित छन् । त्यस बाहेक पुराना दल काँग्रेस–एमालेमा नयाँ अनुहार देखिन्छन् । नेपाली कम्यूनिष्ट पार्टी र जनता समाजवादीका नेताहरु मर्दापर्दाका सारथी बन्नेहरु छन् । अनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलका पुरुष उम्मेदवारलाई महिलाको अर्को चुनौती रहेको छ ।

विराटनगरमा राजनीतिक परिवारको रुपमा चिनिने मारवाडी समुदाय भित्रबाट नेपाली कांग्रेसले फुलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ । लालवानी काँग्रेसको मुक्ति आन्दोलनसँग जोडिएको परिवारसँग नजिक भएर पार्टीमा क्रियाशील जीवन बिताइरहेका व्यक्ति हुन् । नेकपा एमालेले मनोज अग्रवाललाई अगाडी सारेको छ । अग्रवाल व्यापारिक पृष्ठभूमि बोकेका राजनीतिमा सचेत व्यक्ति मानिन्छन् । काँग्रेस–एमालेले उम्मेदवारी बनाएर निर्वाचन लडाइरहेका मारवाडी समुदायका दुई उम्मेदवारको पार्टीगत पकड मात्रै नभई सामाजिक उत्तरदायित्वका हिसाबले जोडिएको मत पनि छ ।

त्यसमा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डल यस क्षेत्रका सबैभन्दा पुराना र अनुभवी राजनीतिक नेता हुन् । मण्डल यो क्षेत्रका लागि २०६४ सालदेखि परिचित अनुहार हुन् । उनी झिनो मतान्तरले निर्वाचित हुनेदेखि पराजय भोगेर पनि निर्वाचन क्षेत्रका लागि जोडिने नेतामा पर्दछन् । उनका लागि यो छैटौं पटकको उम्मेदवारी अवसर हो । त्यसैगरी उनका लागि अस्तित्व जोगाउने निर्वाचन समेत मानिन्छ । हक्की स्वभावका मण्डल आफ्नो क्षेत्रका मतदाता जोडिएका कुनैपनि उजुरबाजुर र मुद्दामामिलामा डटेर लाग्ने र भरसक परिणाम आफ्नो पक्षमा निकालेर मात्रै फर्कनेमा गनिन्छन् ।
जनता समाजवादी पार्टीका नेता राजकुमार यादव पनि यो क्षेत्रका लागि निक्कै प्रभावशाली नेता हुन् । मधेश आन्दोलनबाट जन्मिएका यादव निर्वाचनको उम्मेदवार भएपनि निर्वाचित भएर परीक्षण भइनसकेका नेता हुन् । उनलाई यो निर्वाचनबाट निर्वाचित भएर आफ्नो राजनीतिक धरातल पुष्टि गर्नुपर्ने चुनौती अगाडी रहेको छ । यादव मोरङमा भएका नेताहरुमा इमान्दारकै रुपमा गनिन्छन् ।

नयाँको झड्का

पुराना दलका आफ्ना उम्मेदवारहरुका आफ्ना दावी जे जति भएपनि अहिले वैकल्पिक राष्ट्रिय स्वतन्त्र पार्टीले आसा झालाई उम्मेदवार बनाएको छ । झा यो क्षेत्रमा प्रभावशाली दलबाट महिला उम्मेदवार हुन् । सधैं पुरुषलाई दिनुपर्ने मत यस पटक महिलालाई दिनुपर्छ भन्ने सोच राख्ने मतदाताले उनलाई रोज्नसक्ने विकल्प पनि हुन् । यद्यपी उनी राजनीतिक रुपमा नेपाली काँग्रेस पृष्ठभूमि परिवारबाट भर्खरै रास्वपाको उम्मेदवार बन्ने चिठ्ठा प्राप्त गरेकी नेतामा पर्दछिन् । उनी निर्वाचित हुने नहुने फरक गणीत भएपनि परम्परागत र पुराना दलको मत काट्ने संभावना बढी देखिन्छ ।

यो क्षेत्रमा धनपालथान गाउँपालिका, जहला गाउँपालिका, रंगेली नगरपालिकाको ४ देखि ७ नम्बर वडा र विराटनगर महानगरपालिकाको १३ नम्बर देखि १८ नम्बर वडासम्म समेटिएको छ ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमोद राय, जनमत पार्टीबाट परमेश्वर मुर्मु, नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजबंशी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजेन्द्र प्रसाद मण्डल, मंगोल नेशनल अर्गनाइजेशनबाट सकुन्तला श्रेष्ठ उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्