प्रिय जेन्जी,
यो देशमा धेरैले जनतालाई मूर्ख बनाए। पहिले राजाले मूर्ख बनाए। पछि कांग्रेस र एमालेले मूर्ख बनाए। त्यसपछि त माओवादीले झन् महामूर्ख बनाए। तिनले गरेको दुष्कर्मको छायामा बसेर तिमीले प्राण त्याग गर्यौ। तिमीलाई चाहिएको केवल सुशासन र रोजगारी न हो। त्यो त वीपीको समाजवादभित्र नै समिटिएकै थियो नि! अरुले देसी विदेशी अनुहार देखाएर तिमीलाई पटमूर्ख बनाए अनि कांग्रेसले पनि त्यही सिको गरेर षट्मूर्ख नै बनायो।
किन्तु प्रिय जेन्जी, तिमी गम्भीर भएर सोच त के गगनले आफू ठुलो नेता बन्ने लालसाले तिमीप्रति कुनै घात र प्रतिघात गर्यो? उसले आफ्नो पाटीको स्वार्थका लागि संसदमा २०४६ सालपछिका सबै काण्डको छानबीन गर्नुपर्छ भनेको हो? उसले मागेको यो कुराले उसको पाटीका कति धेरै नेताले जेलको हावा खानेछन् भने नबुझेर यो माग गरेको होला त?
छानबीन रोक्ने त ती पापीहरू हुन् जो आफ्नो र आसेपासेहरूका कर्तुत दबाउन व्यग्र छन्। तिमी एक्काइसौँ शताब्दीको चेतनशील नागरिक भएर सोच त, गनन र अरुमा के फरक छ? कसैले जेन्जी आन्दोलनलाई आतंककारीको ध्वँस भने त कोही तिमीलाई देश जल्ने सङ्गीन मोडमा एक्लै छोडेर दुलोभित्र पसे अनि सबै आरोप तिम्रो टाउकामा भिराएर आफू पानीमाथिको ओभानो बने।
मलाई थाहा छ सिङ्गो देश जल्दा हामीलाई जति पीडाबोध भयो त्योभन्दा धेरै तिमीलाई भएको थियो। तिमीलाई थाहा छ? देश जेन्जीले जलाएको पटक्कै थिएन। तिम्रो नाममा यिनै पाटीभित्रका मुट्ठीभर मानिसहरूले देश जलाए।
जोमाथि ज्यादा रिस थियो त्यसैको घर समेत जलाए। कहीँकहीँ त आफ्नै पाटीका कार्यकर्ताले नै आफ्ना नेताको घर जलाए। यस्तो कार्यमा आफ्नै कार्यकर्ता प्रयोग भएको पनि चाल पाएनन् या चाल पाएर पनि बुझ पचाए!
तर आरोप चाहिँ तिमीमाथि नै थोपरियो। यस्तो विध्वँस नेपाली माटोले कहिलै कल्पना पनि गरेको थिएन। यस्तो विषम परिस्थितिमा पनि पाटीहरूको तर्फबाट को अघि उभियो?
तिमीलाई निर्दोष सावित गर्न कसले अग्रसरता लियो? तिमी मान या नमान नेपथ्यबाट नियालिरहेको मैले त्यो सङ्गीन घडिमा केवल एउटै पात्रलाई देखे, त्यो थियो गगन थापा। तिम्रै क्रान्तिलाई जायज बनाउन उसले यति ठुलो जोखिम लियो कि असफल भएको भए आज ऊ जेलको कालकोठरीमा हुनसक्थ्यो।
घर त उसको पनि जलेको थियो नि। तर उसले तिमीलाई कहिलै यसको दोष थोपरेन अरुले जस्तो। प्रिय जेन्जी, मैले नेपथ्यबाट यतिका कुरा बुझ्छु भने तिमी त मैदानमा नै थियौ नि। तिमीलाई थाहा छ, यदि गगन असफल हुन्थ्यो भने ऊ मात्र होइन आज तिमी पनि जेलको हावा खाइरहेको हुन्थ्यौ।
यसैले प्रिय जेन्जी, चटकेहरूको जादूमयी प्रलापलाई छोडेर तिमीले जसरी पनि गगनलाई सफल बनाउनु पर्छ। गगन सफल हुँदा देश मुस्कुराउनेछ अनि अरु पाटीहरूमा पनि युवापुस्ता हावी हुनेछ। अन्तिम निर्णय तिम्रो हातमा छ, जादू मात्रै हेर्ने कि जिम्मेवार नेतृत्व छान्ने? मलाई तिम्रो विवेकमाथि पूर्ण विश्वास छ। म तिम्रो सही निर्णयको प्रतीक्षामा छु। जय नेपाल आमा!