विराटनगर । विराटनगरको मिल्स एरियामा ‘चौथो मिल्स भेट्रान गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । मिल्स भेट्रान क्लबको आयोजनामा आउँदो फागुन २ गतेदेखी ९ गतेसम्म प्रतियोगिता हुने आयोजक समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना जानकारी गराएको हो ।
विराटनगर १६ स्थित जुटमिलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजक समितिका २ टिम सहित झापा,मोरङ,सुनसरीका थप ८ टिमगरि जम्मा १० वटा टिमको सहभागिता रहने आयोजक क्लबका महासचिव जयकुमार देवकोटाले जानकारी दिनुभयो । सो अवसरमा बोल्नुहुँदै आयोजक संस्थाका अध्यक्ष बुद्धिराज दराईले खेल मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको तथा मिल्स एरियाले फुटबल क्षेत्रमा महत्वपुर्ण योगदान दिएकाले खेलको निरन्तरता दिने उद्धेश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले प्रतियोगिताबाट हुने आम्दनीलाई सामाजिक हितका कार्यहरुमा प्रयोग गरिने समेत बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८१ हजार १ सय ११ र मेडल तथा ट्रफी प्रदान गरिने छ । यस्तै उपबिजेता टिमलाई नगद ४१ हजार १ सय ११ सहित मेडल तथा ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ । यस्तै खेल अवधि भरिका एकजना उत्कृष्ट खेलाडीलाई नगद ५ हजार १ सय र उत्कृष्ट हाईस्कोररलाई ३ हजार १ सय नगद पुरस्कार प्रदान गर्नुका साथै प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय राशिको पुरस्कार प्रदान गरिने आयोजक मिल्स भेट्रान क्लबले जनाएको छ । प्रतियोगिताको उद्धघाटन महानगरका मेयर नागेश कोईरालाले फागुन २ गते साढे २ बजे गर्नुहुने जनाईएको छ । गतबर्ष सुनसरीको धरान भेट्रान्स क्लबले प्रतियोगिताको उपाधि चुमेको थियो भने आयोजक मिल्स भेट्रान उपबिजेता बनेको थियो ।