विराटनगर–४ वनलौरी टोल : नेताको नाममा विशाल संरचना–मतदाताका घरमा फुसका छाना

<span class='c1'>विराटनगर–४ वनलौरी टोल : नेताको नाममा</span> <span class='c2'>विशाल संरचना–मतदाताका घरमा फुसका छाना</span>

सोनु साह
विराटनगर । कोशी राजमार्गबाट भित्र छिर्नेबित्तिकै विराटनगर–४ मा पर्ने एकराईको वनलौरी टोल छ । कोशी राजमार्गबाट २ किलोमिटर दूरीमा रहेको यो बस्ती एकातिर पूर्वसांसद डा. सुनील शर्माको स्वामित्वमा रहेको नोबेल मेडिकल कलेजको विशाल संरचनाले घेरेको छ । अर्कातिर डा. शेखर कोइरालाकी आमाको नाममा स्थापित ‘नोना कोइराला स्मृति प्रतिष्ठान’ को भव्य भवन छ । प्रायः सुनसान देखिने भवन वनलौरीमा विकास भित्रिएको देखाउने संरचना हो । त्यसैको छेउमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा २० करोड रुपैयाँभन्दा बढी लगानीमा अर्को ठूलो भवन निर्माणाधीन छ । यो पनि वनलौरीमा विकास भित्रिएको देखाउने अर्को भवन हो ।

सत्ता, शक्ति र पहुँचका आधारमा ठडिएका यी भीमकाय संरचनाको ठीक मुनि छ उराव (झाँगड), गडेरी र गिरी समुदायको बसोबास भएको बनलौरी–गिरीटोल । यो टोलमा झन्डै दुई सय घरधुरी संघर्षपूर्ण जीवन बिताइरहेका छन् । तीमध्ये करिब ९० प्रतिशत घर कच्ची छन् । ठूला भवनले छेकेको गाउँमा दुई घण्टा झरी परे बस्ती डुबानमा पर्छ । ढल निकासको व्यवस्था छैन, सडकमा बिजुलीका पोलबाट तार लत्रिएका छन् । सडकमा गाईबस्तु बाँध्नेर गोठजस्तो देखिन्छ ।

चुनावी माहोलसँगै बस्तीमा राजनीतिक चर्चा चुलिएको छ । मोरङ–६ अन्तर्गत पर्ने यस क्षेत्रमा केही घरमा अझै पनि डा. शेखर कोइरालाका पोस्टर टाँसिएका छन् । स्थानीय युवा देखि वृद्धसम्मले कोइरालाप्रति विश्वास मारिसकेका भने छैनन् । कोइरालालाई कुनै भ्रष्टाचारको आरोप नलागेको उनीहरुको बुझाई छ । सच्चा र इमानदार नेताको छवि भएकाले यसपालि पनि सहयोग गर्ने उनीहरुको भनाई ।

वर्षायाममा डुबान वा अन्य समस्या पर्दा कोइराला बस्तीमा पुग्ने गरेका छन् । बेला–बेला चामल लगायतका खाद्यान्न सामग्री सहयोग गर्ने गरेको उनीहरुको भनाई छ । तर सबै मतदाता सन्तुष्ट भने छैनन् । स्थानीय सिटी चालक नारायण गिरीका अनुसार २०७४ सालदेखि निर्वाचित नेताहरूले अपेक्षित विकास गर्न सकेका छैनन् । “न त सडक राम्रो बन्यो, न स्वच्छ खानेपानीको व्यवस्था भयो,” उनले गुनासो गरे ।

अर्का मनिकलाल गोसाई भन्छन्, “केही विकास भएको छ, बाटो पहिलेभन्दा अलि सुधारिएको छ । तर नाला, शिक्षा र स्वास्थ्यको अवस्था उस्तै छ ।सडक खाल्डाखुल्डी र धुलाम्य छ । सामुदायिक विद्यालयको पठनपाठन कमजोर र स्वास्थ्य चौकी प्रभावकारी नभएको स्थानीयको गुनासो छ । विगतमा डा. शेखर कोइराला, लालबाबु पण्डित र विजयकुमार गच्छदारजस्ता नेताहरूलाई संसदमा पठाएको मोरङ–६ ले यसपटक कसलाई रोज्ने भन्ने चासो बढेको छ । पछाडि परेको बस्तीको अवस्था देखेर धेरै मतदाताको मन खलबलिएको छ ।

यस निर्वाचन क्षेत्रमा कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्रकुमार राय, राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यसहित २० जना उम्मेदवार चुनावी मैदानमा छन् । वनलौरी टोलका करिब ९० घरधुरीका मतदाता विगतका कामबाट कोही सन्तुष्ट, कोही आक्रोशित देखिन्छन् ।
“जुन गतिमा क्षेत्रको विकास हुन सक्थ्यो, त्यो भएन,” स्थानीयहरूको साझा धारणा छ । अब विकासप्रतिको आक्रोश मतपेटिकामार्फत कसरी प्रकट हुन्छ भन्ने चासो बढेको छ । नाति उमेरदेखि हजुरबुबा उमेरसम्मका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएको यो क्षेत्रमा फागुन २१ गतेको निर्वाचन प्रतिक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्