स्वस्तिका भट्टराई
विराटनगर । पछिल्लो समय नेपाली क्रिकेटको क्रेज नेपालीहरु माझ मात्र नभई विश्व माझ पनि बढ्दो देखिन्छ । एन.पी.एल. को सुरुवात हुने भएदेखि नै युवाहरुको नेपाली क्रिकेटप्रति बढ्दो आकर्षण देखिएको थियो । रंगशाला देखि घर घरका टेलिभिजन र मोबाइलसम्म सबैतिर क्रिकेट फ्यानको घुइचो अझ बढेको देखिन्छ । नेपाली क्रिकेट टिमको राम्रो प्रस्तुति र लगातार दोस्रो पटक विश्वकपमा छनौट हुनुले पनि दर्सकहरु नेपाली क्रिकेट प्रति अझ आकर्षित बन्दै गएका हुन् ।
एनपीएल सिजन २ मा विश्वका १७ विभिन्न देशहरूबाट फाफ डु प्लेसिस (दक्षिण अफ्रिका) शिखर धवन (भारत) मार्टिन गुप्टिल (न्युजिल्यान्ड) जिम्मी निसम (न्युजिल्यान्ड) क्रिस लिन (अस्ट्रेलिया) जस्ता विश्वप्रसिद्ध ४८ जना खेलाडीहरूले विभिन्न टोलीबाट खेलेका थिए । यसले पनि विश्व माझ नेपाली क्रिकेट लोकप्रियता बढ्दै गएको प्रमाणित हुन्छ । सन् २०२५ को सेप्टेम्बरमा युएईको शारजाहमा नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको युनिटी कप टी–२० आई शृङ्खला आयोजना गरिएको थियो ।
नेपालले पहिलो दुई खेल लगातार जितेर वेस्ट इन्डिज जस्तो विश्वकप बिजेता राष्ट्रविरुद्ध पहिलो पटक द्विपक्षीय शृङ्खला जित्ने कीर्तिमान रचनाले पनि विश्वको ध्यान नेपाली क्रिकेट तर्फा आकर्षित बन्दै गएको छ । त्यस्तै नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा कैयौँ ऐतिहासिक उपलब्धिहरू हासिल गर्नुले पनि नेपाललाई विश्व क्रिकेटको मानचित्रमा एउटा बलियो प्रतिस्पर्धीको रूपमा स्थापित गरेको छ।
नेपाली राष्ट्रिय टोलीका अल राउनडर दीपेन्द्र सिंह ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएर विश्वकै सबैभन्दा चाँडो ५० रन बनाउने र टी–२० आईमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । साथै उनी सन् २०२६ मा टी–२० आईमा २ रन पूरा गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्। लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय (ओडीआई) क्रिकेटमा सबैभन्दा चाँडो १०० विकेट लिने कीर्तिमान बनाएर र विश्वका प्रख्यात लिगहरू खेलेर नेपालको शान बढाएका छन्। त्यसैगरी कप्तान रोहित पौडेल नेपालका लागि ओडिआईमा १ रन पूरा गर्ने पहिलो ब्याटर हुन् । उनको नेतृत्वमा नेपालले वेस्ट इन्डिज जस्ता बलिया राष्ट्रहरू विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। ओपनर कुशल भुर्तेलले आफ्नो डेब्युपछिका सुरुवाती तीन टी(२० अन्तर्राष्ट्रिय खेलमा लगातार तीन अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान रचेका थिए । यी खेलाडीहरूको व्यक्तिगत कीर्तिमानले गर्दा नै आज नेपाली क्रिकेटले विश्वभरिका समर्थक क्रिकेट विज्ञहरूको ध्यान तान्न सफल भएको छ।
हामी उदाहरण का लागि फेब्रुअरी ८, २०२६ मा मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न इङ्गल्याण्ड नेपाल बीचको समूह चरणको खेल लाई पनि लिन सक्छौ । यो खेल आई.सी.सी. को इतिहासमा एउटा ऐतिहासिक घटनाको रूपमा दर्ता भएको छ। यस खेलमा नेपाली प्रवासी र विदेशबाट आएका समर्थकहरूको अभूतपूर्व उपस्थितिले तटस्थ मानिएको रङ्गशालालाई ुनेपाली होम ग्राउन्डु मा परिणत गरिदिएको थियो। आई।सी।सी। को आधिकारिक तथ्याङ्क अनुसार रङ्गशालामा १९ हजार ३ सय ६९ दर्शकहरूको उपस्थिति रहेको थियो । जसमा बहुसंख्यक नेपाली समर्थकहरू थिए। उनीहरूको अनुशासित समर्थन र उत्साहलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विशेष महत्त्वका साथ प्रसारण गरेका थिए।
भौतिक उपस्थितिका अतिरिक्त, यस खेलले डिजिटल प्लेटफर्ममा पनि ठूलो प्रभाव पारेको छ। खेलको अन्तिम ओभरहरूमा विश्वव्यापी प्रसारण र लाइभ स्ट्रिमिङ प्लेटफर्महरूमा ट्राफिकको चाप अत्यधिक बढेको थियो । जसलाई प्राविधिक भाषामा ‘लाइभ ब्लो अप’ भनिएको छ। विशेषगरी नेपाल र विश्वभर रहेका नेपालीहरूले एकैपटक स्ट्रिमिङ गर्दा आईसीसीका आधिकारिक सर्भरहरूमा केही समयका लागि प्राविधिक सुस्तता समेत देखिएको थियो। मैदानमा नेपालले कडा प्रतिस्पर्धाका बावजुद मात्र ४ रन को झिनो अन्तरले पराजय भोग्नु परे तापनि, यस खेलले विश्व खेलकुदमा नेपालको बढ्दो प्रभाव र समर्पित फ्यानबेसलाई प्रमाणित गरेको छ।
खेल सकिए पश्चात सामाजिक संजाल हरु फ्यान एडिटले भरिएका छन् । यसले पनि युवा माझ क्रिकेट प्रतिको क्रेज झल्काउछ । नेपाल समूह चरणको अर्को खेल बिहिबार इटाली खेलेको छ । जीतहारको विषय फरक होला तर नेपालले पाएको कभरेजले भने विश्व क्रिकेटको मानचित्रमा अब्बल सावित भएको छ ।