काठमाडौं । टी–२० विश्वकपमा नेपाल ९ विकेटले वेस्ट इन्डिजसँग पराजित भएको छ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ ।
आजको खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर एटको टिकट पुगेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार ब्यहोरेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो । १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले । उनी ४४ बलमा ६१ रनसहति अविजित रहे । यस्तै, शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए ।
बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि सुवास खकुरेलले २०१४ टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।