राष्ट्रिय फुटबल टोलीकी कप्तान ‘साम्बा’ ले भावुक स्टाटस लेख्दै भनिन्…

<span class='c1'>राष्ट्रिय फुटबल टोलीकी कप्तान ‘साम्बा’</span> <span class='c2'>ले भावुक स्टाटस लेख्दै भनिन्…</span>

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडाको उपचारको लागि सरकार र आम फुटबल प्रेमीहरुसँग आर्थिक सहयोगको लागि अपिल गरेकी छन् ।
सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक सहयोगका लागि समर्थक र फुटबल प्रेमीमा अपिल समेत गरेकी छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेकी छन् ।

नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको ‘साम्बा’

यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।

मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनस् जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।  पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो ।  त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ। ।

तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन ।  चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो ।  

तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।

यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ ।  तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनः सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ ।  

तर उक्त रकम मेरो शल्यक्रिया र ७/८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।

म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।  

मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुनस् माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।

मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सँधै शतप्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । 

इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ ।  यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु । 

आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ ।  त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला ? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनः एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।

मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला । 

विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :

https://givealittle.co.nz/.../support-sambas-surgery...

यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु । 

थाकेको हो, हारेको छैन

पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।

जय नेपाल ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्