विराटनगर फाल्गुन १२ ,
काठमान्डौ मेडिकल कलेज (केएमसी) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचार निःशुल्क गरिदिने घोषणा गरेको छ।
काठमाडौँस्थित केएमसी अस्पतालले एक औपचारिक विज्ञप्ति जारी गर्दै साम्बाको सम्पूर्ण स्वास्थ्य उपचार अस्पतालमै निःशुल्क गरिने जनाएको हो। अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा देशका लागि महत्वपूर्ण योगदान दिएकी खेलाडीको स्वास्थ्यप्रति जिम्मेवार बन्दै उपचारमा कुनै कमी नहुने उल्लेख गरिएको छ।
केएमसीका अध्यक्ष डा. सुनिल शर्माले राष्ट्रिय गौरवका रूपमा स्थापित खेलाडी साम्बाको स्वास्थ्य उपचारमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। “देशका लागि निरन्तर संघर्ष र उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीको उपचारमा सहयोग गर्नु हाम्रो कर्तव्य हो,” विज्ञप्तिमा भनिएको छ।
अस्पतालको यस निर्णयलाई खेल क्षेत्र, समर्थक तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन्। नेपाली महिला फुटबलको पहिचानका रूपमा स्थापित साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न क्षेत्रबाट शुभेच्छा व्यक्त भइरहेको छ।