विराटनगर । विराटनगरस्थित इस्टर्न कलेजमा "खेलौ र स्वस्थ रहौ" भन्ने मूल नाराका साथ सञ्चालित साताव्यापी (स्पोर्ट्स मिट- २०८२) शुक्रबार एक भव्य समारोहका साथ समापन भएको छ। फागुन ८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाल नागरिक उड्डयन प्राधिकरण, विराटनगरका निर्देशक श्री सुवास झा र विशिष्ट अतिथिहरूले विजेता खेलाडीहरूलाई पुरस्कार तथा मेडल वितरण गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह-संयोजक निहाल कार्कीले खेलकुदको महत्वमाथि प्रकाश पारे भने संयोजक विशाल विश्वकर्माले प्रतियोगिताको व्यवस्थापन गरेका थिए ।त्यस्तै प्राचार्य ई. अमित स्रानाले खेलकुद सप्ताह सफलतापूर्वक सम्पन्न गरेकोमा विद्यार्थीहरूलाई बधाई दिँदै अतिथिहरूप्रति विशेष आभार प्रकट गरे । उनले शिक्षासँगै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे ।
प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, टेबलटेनिस, चेस, हाजिरीजवाफ, डोरी तान र म्युजिकल चेयर जस्ता ९ विधाका खेलहरू सम्पन्न भएका थिए। हरेक वर्ष कलेजले प्राज्ञिक शिक्षाका साथै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।