विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कोशीमा नयाँ दलको उदय गराएको छ । यति इलाम १ को परिणाम पक्षमा परेमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी चार सिटसहित राष्ट्रिय दलको रुपमा उदाउने भएको छ । इलाममा जीत हाँसिल नगरेपनि साम्पाङ्गको पार्टी श्रम संस्कृतिले तीन सिट पक्का गरिसकेको छ । अब समानुपातिकतर्फको मतमा समाचार तयार पार्दासम्म एकलाख नजिक छ ।
हर्क साम्पाङ र बालेन शाह २०७९ को स्थानीय निर्वाचनमा लौरो चुनाव चिन्हबाट उदाएका हुन् । हर्कले धरानमा र बालेनले काठमाण्डौंमा स्थानीय सरकारको नेतृत्व गरेका थिए । यी दुवै अहिले देशभरमा चर्चा बटुल्दै राजनीतिको केन्द्रीय धारमा उदाएका हुन् । जेनजी विद्रोहलाई संस्थागत गर्न फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले कोशीबाट श्रम संस्कृति पार्टीको रुपमा हर्कको उदय भएको छ । यो पार्टी गठन भएको चार महिनाको छोटो अवधीमै र निर्वाचनमा पहिलो सहभागितामै सुनसरी–१ सहित भोजपुर र खोटाङमा प्रतिनिधि सभा सदस्यमा ठूला दललाई पन्छाउँदै जित दर्ता गरेको छ ।
अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङसहित तीनजनाले संसद प्रवेशको टिकट जनताबाट लिइसकेका छन् । कोशी प्रदेशमा आइतबार अपराह्नसम्म रास्वपा बाहेक श्रम संस्कृति पार्टीको हैसियत कांग्रेस र एमाले समान बनेको छ । दलका अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै संसद भवन छिर्ने पक्का भएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छिन् ।
यो पार्टीले खोटाङ र भोजपुरमा पनि जित हात पारेको छ । खोटाङमा आरेन राईले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधि सभा सदस्य बन्दा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए । यहाँ कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए । त्यसैगरी श्रम संस्कृति पार्टीले भोजपुरमा प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै दलका लागि प्रतिनिधि सभा सदस्य संख्या तीन पुर्याएको छ । त्यहाँ यो पार्टीका ध्रुवराज राईले १६ हजार ६६३ मत ल्याएर जित दर्ता गर्दा एमालेका शेरधन राई १४ हजार ७५० मतमा रोकिएका छन् । श्रम संस्कृति पार्टीले सुनसरी–१, भोजपुर र खोटाङमा जित दर्ता गर्दै प्रदेशका १४ वटै जिल्लामा प्रभावशाली उपस्थिति जनाउँदै झण्डै आधा दर्जन निर्वाचन क्षेत्रमा ठूला दल कांग्रेस, एमाले, राप्रपा र नेकपालाई मत संख्यामा उछिनेको छ ।
कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमध्ये आइतबार अपराह्नसम्म २४ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ सिटमा रास्वपा, कांग्रेस, एमाले र श्रम संस्कृतिले समान ३–३ सिटमा जित दर्ता गर्दा यो प्रदेशमा नेकपा, राप्रपा लगायतका दलले जितको खाता खोल्न सकेनन् । रास्वपाले झापा, मोरङ र उदयपुरमा क्लीन स्वीप गरेको छ । तीन सिट जितसँगै श्रम संस्कृति पार्टीले झापा–१ मा १० हजार ४ मत ल्याएर तेस्रो भएको छ । त्यहाँ रास्वपा पहिलो हुँदा कांग्रेस दोस्रो भएको छ । झापा–२ मा ७ हजार २९१, झापा–३ मा ७ हजार ३३९, ४ मा ७ हजार १६१ र झापा–५ मा ९ हजार २३३ मत ल्याएर यो पार्टीले बलियो उपस्थिति जनाएको छ ।
त्यसैगरी मोरङको क्षेत्र १ मा रास्वपाले जित दर्ता गर्दा श्रम संस्कृति पार्टीले १७ हजार ५२२ मत ल्याएर उपविजेता बन्यो । मोरङ–३ मा यो दलले १६ हजार ५०१ मत ल्याएर तेस्रो बन्यो । त्यसैगरी सुनसरी–१ मा जित दर्ता गर्दा २ मा ६ हजार ३४५ मत सहित तेस्रो बन्यो । यहाँ कांग्रेस दोस्रो छ । पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी हुँदा श्रम संस्कृतिका हस्तराज शेर्मा १४ हजार ७३४ मत ल्याएर उपविजेता बने । उनी यहाँ २ हजार ४९९ मतले पछि रहे । यो पार्टीले धनकुटामा ११ हजार ९३२ मत ल्याएर तेस्रो हुँदा ताप्लेजुङमा ५ हजार २०९ मतको उपस्थिति देखायो । त्यसैगरी इलाम, ओखलढुङ्गा, तेह्रथुम र संखुवासभामा पनि श्रम संस्कृति पार्टीले यो निर्वाचनमा आफ्नो उपस्थिति देखाएको छ ।
श्रम संस्कृति पार्टीले इलाम २ र १ मा आफ्नो उपस्थिति बलियो देखाएको छ । त्यस बाहेक झापा ५ मा समेत उल्लेख्य मत ल्याएको छ । त्यस बाहेक श्रम संस्कृति पार्टी कोशीका २८ निर्वाचन क्षेत्रमा नै आफ्ना उम्मेदवारसहित सबैका लागि चुनौती बनेर देखिएको छ ।