बेल्जियम । मगर संघ बेल्जियमले आफ्नो भावी कार्ययोजना तथा घोषणापत्र सार्वजनिक गरेको छ ।
आयोजित कार्यक्रममा संघका अध्यक्ष कल्पना मगरद्वारा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रस्तुत घोषणापत्रमा मगर समुदायको एकता, भाषा, संस्कृति संरक्षण तथा संस्थागत विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । अध्यक्ष मगरले बेल्जियममा बसोवास गर्ने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै समुदायको हित, उत्थान र सशक्तीकरणमा केन्द्रित भएर काम गरिने बताउनु भएको छ । घोषणापत्रअनुसार मगर समुदायको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई विशेष महत्व दिइनेछ । माघे संक्रान्ति जस्ता सांस्कृतिक कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ । साथै, मगरहरूको पहिचानसँग जोडिएको भूम्या पर्वलाई भव्य रूपमा मनाउन विभिन्न संघ संस्थासँग सहकार्य गरिने योजना अघि सारिएको छ ।
मगर मातृभाषा संरक्षणका लागि अनलाइन भाषा कक्षा सञ्चालन गरिने योजना पनि घोषणापत्रमा समेटिएको छ । यसबाट दोस्रो पुस्तामा भाषा हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, मगर दिवसलाई प्रत्येक वर्ष भव्य रूपमा मनाइने र पुराना तथा नयाँ सदस्यबीच सम्बन्ध सुदृढ बनाउन नियमित भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिने जनाइएको छ । संस्थागत सुदृढीकरणतर्फ ध्यान दिँदै संघको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाइने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। दीर्घकालीन लक्ष्यअनुसार आर्थिक अवस्था मजबुत बनाउँदै उक्त कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ । कार्यक्रममा संघका संरक्षक, महासंघका प्रतिनिधि, पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।