म त्यही आमा हुँ,
जो हरेक सानो प्रगतिको
मौन ताली बजाउँछ,
किनकि त्यही सानो जीत
मेरो संसार हो ....
म त्यही आमा हुँ,
जसलाई कसैले भन्छ —
“तिम्रो बच्चाले अझै धेरै सिक्न बाँकी छ,
अझै अलि अभ्यास गराऊ।।
र म त्यही आमा हुँ,
जसलाई संसारले सोध्छ —
“तिमीले कसरी सबै सम्हाल्छौ?”
तर उनीहरूलाई थाहा छैन,
म कसरी
रात–रातभरि
आफ्नो डर सँगै बस्छु......
म त्यही आमा हुँ,
जसको मन भारी हुन्छ
बच्चालाई छोडेर जाँदा,
तर राति ऊ रोएन,
शान्तसँग सुत्यो भनेर
भित्रभित्रै मुस्कुराउँछु......
म त्यही आमा हुँ,
जसको बच्चा उफ्रन्छ, कराउँछ,
नाच्छ, रमाउँछ,
चिच्याउँछ,
अचानक रुन्छ,
फेरि एकैछिनमा हाँस्छ...
मेरो बच्चा बिना
मेरो जीवन अधूरो छ,
तर फेरि पनि
म यही चाहन्छु —
ऊ मेरो छायाँ नभई
आफ्नै सूर्य बनोस्. ......
हो,
म त्यही आमा हुँ —
एक autistic बच्चाकी आमा,
जो आफ्नै थकान लुकाएर
यो समाजमा
आफ्नो बच्चाका लागि
एक सुरक्षित ठाउँ बनाउने
अन्तहीन यात्रामा हिँडिरहेकी छ
- स्वस्तिका काफ्ले ।