विराटनगर । गत माघ ११ गते दिउँसो ३ बज्दै थियो । विराटनगर १ का रोहित ठाकुरलाई फोन आयो, ‘छोरालाई करेन्ट लागेर सिकिस्त स्थिति छ’ । १३ वर्षीय आर्यन साथीहरुसँगै सिंघीयामा माछा मार्न पुगेका थिए । त्यहिबेला उनलाई माछा मार्न थापेको जालमा जोडेको करेन्टले लग्यो । ीवराटनगर १ पोखरीया गंगाटोलमा सन्नाटा त छायो । चारजना उस्तै उमेरका बालकहरुले माछा मार्ने जमर्को गरेका थिए । सिंघीया भन्दा झण्डै ३६३ मिटर दुरीमा रहेको मंगला सहनीको घरको शौचालयबाट बिद्युत जोडेर जालसम्म लगेका थिए ।
अभिभावकले काम गरेको देखेरै १२÷१३ वर्ष उमेरका उनीहरुमध्ये केहिलाई बिद्युतको वाइरिङ्ग पनि आउँथ्यो । तर, बालापनमा त्यसको प्रयोग गलत गर्दा आफ्नै साथी उनीहरुले गुमाउनु प¥यो, यता रोहितले छोरा र परिवारले आफ्नो सन्तान । माघको यो घटना स्मरण गर्दै रोहित अहिलेसम्म बेचैन छन् । उनको गुनासो प्रहरीसँग पनि छ । घटना जिल्ला प्रहरी कार्यालय नजिक भएको थियो । तर, प्रहरी भने भोलिपल्ट मात्रै पुगेको उनी आरोप लगाउँछन् । त्यति मात्रै नभई प्रहरीले उनको गुनासो सुनुवाई नगरेको दुखेसो पोखिरहेका छन् ।
ठाकुर आफ्नो छोरा गुमाउनुको पीडामा सहानुभूति खोजिरहेका छैनन् । सँगै गएका चारजनामध्ये आफ्नो छोरा नै जालमा पुग्नुको कारण खोजिरहेका छन् । भन्छन्–चारजनामध्ये मेरो छोरा नै माछा मार्ने जाल समाउँदै खोलामा कसरी पुग्यो ? उनका अनुसार अरु चारजनामध्ये आफ्नो छोरा माछा मार्न कम जान्दथ्यो । उनले प्रहरीमाथि अर्को गम्भीर आरोप पनि लगाएका छन् । जहाँ माछा मार्नका लागि बिद्युत जोडेर लगिएको तार थियो, त्यो घटनास्थलबाटै हराएको छ । त्यसलाई प्रहरीले लुकाएको आरोप रोहितको छ । तर, प्रहरी घटनास्थलमा भएको प्रमाण नष्ट गर्नभन्दा प्रमाण संकलन गर्नतर्फ बढी सचेत हुने गर्दछ ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालले उहि उमेर समूहका बालबालिकाले एकले अर्कोलाई हानीनोक्सानी पु¥याउने किसिमको कुनै भूमिका निर्वाह नगरेको दावी गरिन् । उनले समान उमेर समूहका बालबालिकाले माछा मार्ने कार्यमा बिद्युतको लाइन प्रयोग गर्दा घटना भएको बताइन् । घटना भवितव्य भएकोले साना बालबालिकालाई बोलाएर जर्वरजस्ती प्रहरीले बयान लिनसक्ने स्थिति नरहेको उनी बताउँछिन् ।
प्रहरी नायव उपरीक्षक चुँडालले घटना भएपछि पहिले घाइतेको उद्धार र उपचारमा लागेको बेला प्रहरीको आँखा छलेर त्यहाँ प्रयोग भएको तार चाँहि चोरी भएको आशंका गरिएको छ । अहिले त्यहाँ प्रयोग भएको तार प्रहरीसँगै छैन । तर, पीडित परिवारले भने प्रहरीको त्यहि कमजोरीलाई समातेर अहिले सञ्चारमाध्यम र मानव अधिकार आयोगको कार्यालय धाइरहेका छन् ।
रोहितले जतिनै शंका गरेपनि, घटना हुँदा सँगैरहेका तीनजना बालकहरु समेत अहिलेसम्म सामान्य बन्न सकेका छैनन् । सानो उमेरका उनीहरुमा समेत मनोपरामर्श जरुरी देखिने स्थितिमा रहेका छन् । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले घटना जुनसुकै कोणबाट अनुसन्धान गरेपनि भवितव्य बाहेकको निष्कर्ष निकाल्न नसकिने बताएका छन् । किनकी परिवारका सबै अभिभावक घर बाहिर भएका बेला बाथरुमको प्लकबाट तार तानेर खोलासम्म पु¥याउने र जालमा जोडेर माछा मार्ने काम भएको देखिन्छ ।
तर, घटनाको आश्चर्य चाँहि के छ भने प्रहरी कार्यालयदेखि नजिकै रहेको खोलामा समेत करेन्ट प्रयोग गरेर माछा मार्ने गर्ने गरेको खुलेको छ । अत्यन्तै जोखिम मानिने यो कार्य रोक्न स्थानीय तह र स्थानीय प्रशासनको भूमिका कमजोर छ भन्ने कुरा यो घटनादेखि बाहिर प्रकट भएको छ । गत जेठ ३१ गते मोरङको सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु भएको थियो । सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको थियो ।
त्यस बाहेक पनि प्रायः पानी भएको स्थानमा करेन्ट लगाएर माछा मार्दा दुर्घटना हुँदै आएका छन् । खोला आसपासको बस्ती असावधानीपूर्वक करेन्ट प्रयोग गर्ने र माछाको स्वाद लिने मनस्थितिमा पुग्दा जोखिममा रहँदै आएको छ ।