लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेँसीमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी ४० वर्षीया गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँकी ३५ वर्षीया पुष्प घले रहनुभएको छ । सदरमुकाम बेँसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलातर्फ जाँदै गरेको यात्रीवाहक बोलेरो जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–७ की ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रीता गुरुङ, ७ वर्षीय सफल गुरुङ, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ र २९ वर्षीय करण अधिकारी रहनुभएको छ ।
यसैगरी घाइते हुनेमा १० वर्षीया प्रिशिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १४ वर्षीय विमान घले, ९ वर्षीय इन्द्र घले र ४८ वर्षीय रुद्रमान घले रहनुभएको छ ।
ग १ ज ६४७० नम्बरको जिप शनिबार अपराह्न साढे ४ बजेतिर उस्ताबेँसीको उकालो घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घाइते सबैलाई उपचारका लागि बेँसीसहरस्थित लमजुङ प्रादेशिक अस्पताल ल्याइएको छ । तीमध्ये गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ ।
दुर्घटनामा चालकसमेत घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।