विराटनगर। विराटनगरको साहित्यिक आकाशमा शुक्रबार एक अत्यन्तै प्रेरक दृश्य देखियो। ८४ वर्षका वरिष्ठ साहित्यकार प्रभुप्रसाद पराजुली र उनका नाति युवा लेखक प्रबुद्ध पराजुली का फरक विधाका कृतिहरू एकै मञ्चबाट लोकार्पण भएपछि उपस्थित साहित्यप्रेमीहरू भावविभोर भए।
विराटनगर–११ मा आयोजित विशेष समारोहमा प्रभुप्रसादको आत्मकथा ‘आफ्नो कथा आफ्नै व्यथा’ र प्रबुद्धको अनुसन्धानमूलक पुस्तकको संयुक्त विमोचन गरिएको थियो।
प्रभुप्रसादले आफ्नो ८४औँ जन्मदिनको अवसरमा लोकार्पण गरेको आत्मकथामा पूर्वी पहाडदेखि तराईसम्मको जीवनयात्रा, संघर्ष, सामाजिक सेवा र राष्ट्रिय चेतना समेटिएको छ। आलोचकहरूले यो कृतिलाई केवल व्यक्तिगत दैनिकीको विवरण नभई तत्कालीन समाज र समयको जीवन्त प्रतिबिम्ब भएको बताएका छन्। लोकार्पणकै क्रममा प्रभुप्रसादले आफ्ना कविता र गजलका अंश वाचन गर्दा हलमा उपस्थित श्रोताहरू भावुक बने। यसै समारोहमा युवा लेखक प्रबुद्ध पराजुलीले आफ्नो अनुसन्धानमूलक कृति प्रस्तुत गरे। पुस्तकमा समावेश विषयवस्तुमा पृथ्वीको उत्पत्ति (करिब ४ अर्ब वर्षअघिको इतिहास), जीवनको विकासक्रम, र बढ्दो प्रदूषणका कारण हुन सक्ने सम्भावित ‘छैटौँ सामूहिक विलुप्ति’ जस्ता वैज्ञानिक विषयहरूको सरल व्याख्या समेटिएको छ।


प्रबुद्धका पिता डा. पराक्रम पराजुली का अनुसार, यो पुस्तक तयार पार्न १० महिनाको गहन अनुसन्धान र पारिवारिक सहयोग लागेको थियो। कार्यक्रममा उपस्थित साहित्यप्रेमी र विज्ञानअनुरागीहरूले हजुरबुवा र नातिको यस्तो संयुक्त पहललाई अत्यन्तै सराहनीय ठानेका छन्।