काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सिंहदरबारमा समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा निर्वाचित गरेको हो ।
सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । समिति सभापतिमा सर्वम्मत भए पनि रोकायाले कसैप्रति कुनै खालको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बचाउने गरि भूमिका निर्वाह गर्ने बताए। उनले भने, ‘मैले आफ्नो कार्यकालमा यहाँहरुले विश्वास गरेर सभापति पदमा निर्वाचित गर्नुभएको छ । म कसैप्रति कुनै खालको आग्रह नराखेर आफ्नो जुन पार्टीबाट जुन ठाउँबाट निर्वाचित भएको छु त्यो भन्दा माथि उठेर विधायन समितिलाई अझै गरिमामय बनाउने राष्ट्रिय सभाको गरिमालाई बचाउने र निष्पक्षीय भूमिका मेरो तर्फबाट हुनेछ ।’
उनले समितिका सम्पूर्ण सदस्यहरुलाई हार्दिक आभारसहित धन्यवाद दिँदै विधायन समिति अत्यन्तै महत्वपूर्ण समिति रहेको पनि बताए । ‘विधायन समितिका सम्पूर्ण सदस्यहरुले मलाई निर्विरोधरुपमा समितिको सभापति पदमा निर्वाचित गर्नुभएकोमा सबैलाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो विधायन समिति अत्यन्तै महत्वपूर्ण समिति हो । कतिपय कानुनहरु राष्ट्रिय सभाबाट उत्पति हुने र कतिपय कानुन प्रतिनिधि सभाबाट उत्पति भई त्यहाँबाट पारित भई यहाँ आउने भएकोले यसलाई हामीले अध्यन गरेर उत्कृष्ट बनाउन सबैको मान्यजनहरुको सहयोग रहने छ,’ उनले भने । समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ ।