रामेछाप । रोशी खोलाको कटानको कारण ऐतिहासिक धार्मिक तीर्थस्थल सिन्धुलीको अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर जोखिममा परेको छ ।
मन्दिरको दुवै तर्फ खोलाले कटान गरेर मन्दिर क्षेत्रलाई टापु बनाएको छ । गएको वर्ष र यस वर्षको वर्षामा रोशीमा आएको बाढीले मन्दिर क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । बाढी मन्दिरमा पसेर मन्दिर क्षेत्र नै डुबाएको थियो । मन्दिर परिसरमा रहेका बटुक तथा शिक्षकहरू २ दिनसम्म मन्दिरमा नै थुनिएका थिए । बाढीले मन्दिरको वारिपट्टि रहेका घर टहराहरू बगाएर बगर बनाएको छ । घरहरू भएको ठाउँमा अहिले रोशीखोलो बगेको छ । खोलाले कटान गरेको क्षेत्रमा तटबन्धको काम नहुँदा कुनै पनि बेला मन्दिर बगाउने जोखिम बढेको छ । कुशेश्वर महादेवलाई धार्मिक एवं सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । कुशेश्वर महादेवका बारे हिमवतखण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । हिमवतखण्डमा सो क्षेत्रको वर्णन गरिएको आधारमा पनि कुशेश्वर महादेव क्षेत्रलाई ऐतिहासिक महान् तीर्थस्थल धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक धरोहरको रूपमा लिन सकिन्छ । भोटेकोशी, इन्द्रावती, सुनकोशी, चौँरीखोलालगायत असंख्य हिमाली पहाडी खोला छाँगा-छहरा समेटेर पूर्व बगेकी पवित्र सुवर्णकौशिकी अर्थात् सुनकोसीमा मिसिन पुगेकी रोशीखोला, लीलावती, रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ । काठमाडौँबाट ८३ किलोमिटरको दूरीमा रहेको दुम्जा फाँट रामेछाप काभ्रे र सिन्धुली जिल्लाको सङ्गमस्थल पनि हो । सोही फाँटमा कुशेश्वर महादेव मन्दिर रहेको छ ।
यो स्थानमा आदिर्लिङ्ग कुशेश्वर महादेवको साथै दुर्गाघाट तथा विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा समेत रहेको छ । कुशेश्वर महादेव मन्दिर सिन्धुली पट्टी छ भने विश्वामित्र गुफा रामेछाप पट्टी रहेको छ । हिमवतखण्डमा वर्णित ६४ लिङ्गहरूमध्ये सबैभन्दा पहिला दर्शन गर्नुपर्ने आदिर्लिङ्ग कुशेश्वर भएको बताइन्छ । हिमवतखण्डका अनुसार ब्रह्माजीले विश्वसृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले यसलाई आदिर्लिङ्ग भनिएको हो । शुम्भ—निशुम्भ नाम गरेका दैत्यले पनि यस क्षेत्रमा धेरैकाल तपस्या गरेर शिवजीको वरदान पाई त्रिलोक विजय गरेको कुरा हिमवत खण्डमा उल्लेख छ । शुम्भ निशुम्भद्वारा पराजित भएका देवताहरूले ब्रह्माजीसमेत भएर कुशेश्वर आदिर्लिङ्गको समीपमा आई देवीको आराधना गर्दा अष्टादश भुजा जलदेवी प्रकट भई देवताहरूको दुःख हरण गर्ने आश्वासन दिइएको र राक्षसहरूको वध गरी देवताहरूको उद्धार गरेर रामेछापको खाँडादेवीमा खड्ग गाडी दोलखाको कालिञ्चोकमा अन्तध्र्यान भएको धार्मिक मान्यता रहेको छ । त्यसैले दुर्गा तीर्थको रूपमा पनि कुशेश्वर क्षेत्रलाई महत्त्वपूर्ण मानिन्छ । नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले कुशेश्वरनाथको भक्तिभावले राज्य सिंहासन पाएको कथन छ । राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत झाँगाझोली खहरेको ५६० मुरी खेत सिमले बुँ र फलफूल बारीको व्यवस्था गरिदिएको इतिहासमा उल्लेख छ ।
राजा जगज्जयले झाँगाझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी सो ताम्रपत्र बमोजिमको गुठी कमाई नीत्यपूजा चलाउन गिरी खानदानका बाजे बलभद्र गिरीलाई जिम्मा लगाई दिएका थिए । विक्रम संवत् १८६२ मा ५ सय मुरी खेत रेकर्ड भयो । विसं १९१३ मा २ सय २० मुरी खेत सुनकोसीले बगायो । भूमिसुधारको समयमा फलफूल बारी बलभद्र गिरीका सन्तानले आफ्नो नाममा दर्ता गरे । अहिले झाँगाझोली गुठी खेत १ सय ४० मुरी बाँकी रहेकोमा हाल नदी कटानबाट क्षति भएर र बारी रहेको २ सय २० मुरी माटो भएको खेतमा खेती भइरहेको छ । तर खेत कमाउने मोहीहरूले मन्दिरलाई तिर्नु पर्ने कुत तिरेका छैनन् । कुशेश्वर महादेवको नाममा झाँगाझोलीमा ११ रोपनी ६ आना बारी पिठौलीडाँडा आबाद रहेको छ भने करिब २० रोपनी खेत रहेको छ । भक्तपुरका मल्ल राजाले ढुङ्गाको खम्बामाथि ढुङ्गाकै बसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए । यो इतिहास शिलालेख शिलापत्रमा देखिन्छ । तीनै राजाले मन्दिरको वरिपरि गिर्जा क्याम्पा र सानो धर्मशाला पनि बनाएका थिए । अहिले सो धर्मशालालाई पुरातत्त्व विभाग मार्फत जीर्णोद्धार गरी बटुकको पढाई सञ्चालन हुँदै आएको छ ।
विसं १८३६ मा शाहवंशीय श्री ५ राजेन्द्र लक्ष्मी देवी शाहले कुशेश्वर नाथमा दुमजेश्वरी अङ्कित चाँदीको बेलपत्र र धुतुरा पुण्यको माला पनि चढाएको शिलालेखमा उल्लेख छ । श्री ५ पृथ्वीवीरविक्रमकी बुबुधाई दुम्जाकी बिर्तावाला जनककुमारीले विसं १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठुलो चँदुवा र तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइन् ।
त्यसैगरी विसं १९९६ मा श्री १०८ परमहंस बाबा गोपाल दास तीर्थाटन गर्दै कुशेश्वर महादेवस्थान दुम्जा पुगे । उनले बेवारिसे अवस्थामा रहेको झाँगाझोलीको गुठी सुधार गरी दुम्जामा नै ६० मुरी खेत गुठीको व्यवस्था गरेका थिए । उनले नै शिवलिङ्ग मुनि ढुङ्गाका खापैखाप लागेको जलहरी भएको कुरा मन्दिरको जीर्णोद्धारको समयमा पत्ता लगाए । उनले भिक्षाटन गरेर एउटा यज्ञशाला शिव, सरस्वती मन्दिर र बटुक भैरवको तीन पाखे पर्खाल बनाइदिए । त्यसपछि रुद्र महायज्ञ गराई आफ्ना चेला नारायण दाशलाई मठ जिम्मा लगाई विसं २०१८ मा समाधिस्थ भएको इतिहास छ । आजभन्दा लगभग चार सय वर्षअघि दुम्जामा बसोबास गर्ने दगु डङ्गोल परिवारको कुल देवता कुशेश्वर महादेव भएकोले पनि दुम्जा बसोबासको हिसाबले पुरानो बस्ती हो भन्ने थाहा लाग्छ । अहिले पनि भक्तपुरका नेवारहरूले कुशेश्वरलाई आफ्नो इष्ट देवता मान्ने गर्दछन् ।