विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स एआई सक्षम जीई सिग्नेचर अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा ल्याएको जनाएको छ। हस्पिटलका अनुसार यस प्रविधिको प्रयोगसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने भएका छन्।
हस्पिटलले जनाएको अनुसार एआई प्रविधियुक्त उक्त मेसिनले परम्परागत अल्ट्रासाउन्डको तुलनामा शरीरका भित्री अंगहरूको तस्बिर अझ स्पष्ट र सूक्ष्म रूपमा देखाउन सक्षम छ। मेसिनमा जडान गरिएको एआई प्रणालीले अंगहरूको बनावट स्वतः पहिचान गरी आवश्यक मापनसमेत स्वचालित रूपमा गर्न सक्ने भएकाले रिपोर्टिङमा हुने मानवीय त्रुटि न्यून हुने विश्वास गरिएको छ।
त्यस्तै, एआई प्रविधिको प्रयोगले जाँच प्रक्रिया करिब ४० प्रतिशतसम्म छिटो हुने भएकाले बिरामीहरूले रिपोर्टका लागि लामो समय कुर्नुपर्ने अवस्था पनि कम हुने हस्पिटलले जनाएको छ। हाई-डेफिनेसन 3D तथा 4D इमेजिङ सुविधाले चिकित्सकहरूलाई रोगको सटीक निदान तथा उपचार योजना बनाउन थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
हस्पिटलका प्रशासन प्रमुख प्रमेश राज देवकोटाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप अत्याधुनिक प्रविधि भित्र्याइएको बताए। उनले अब पूर्वाञ्चलका बिरामीहरूले सटीक निदान र स्तरीय उपचारका लागि काठमाडौं वा विदेशसम्म धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरे।
पूर्वाञ्चलको अग्रणी स्वास्थ्य संस्थाका रूपमा परिचित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ एआई सक्षम जीई सिग्नेचर मेसिन सञ्चालनमा आएपछि आफ्नो डायग्नोस्टिक सेवा अझ प्रभावकारी, सुदृढ र भरपर्दो बन्ने जनाएको छ।