विराटनगर । जीवन कहिलेकाहीँ यस्तो अवस्थामा पुर्याउँछ, जहाँ एकपछि अर्को समस्या आउँदा मानिससँग विकल्प भन्दा बढी सहनशीलता मात्र बाँकी रहन्छ । विराटनगर महानगरपालिका–३ का सुरज भण्डारी अहिले त्यस्तै कठिन मोडमा उभिएका छन् । उनको परिवारका दुई मुख्य सदस्य एकै समयमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । उनका ६३ वर्षीय बुवा चक्रमनि भण्डारी लामो समयदेखि जटिल स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन् भने अर्कोतर्फ उनकी श्रीमती परम्परा न्यौपाने भण्डारी तेस्रो चरणको क्यान्सरको उपचारमा छन् ।
एउटै घरमा दुई वटा गम्भीर रोगको सामना गर्नु परेका कारण भण्डारी परिवारको दैनिक जीवन पूर्ण रूपमा प्रभावित एवं अस्तव्यस्त बनेको छ । यो पीडादायी अवस्थाको सुरुवात साउन महिनाबाट भएको थियो । घाँटीको नसासम्बन्धी समस्याका कारण चक्रमनि भण्डारीले शल्यक्रिया गराएका थिए । सुरुवातमा सामान्य देखिएको उक्त उपचार पछि अप्रत्याशित रूपमा जटिल बन्दै गयो । शल्यक्रियापछि संक्रमण फैलियो र त्यसले शरीरका विभिन्न अंगमा असर पार्न थाल्यो ।
क्रमशः मस्तिष्कमा पानी जम्ने, मेनिन्जाइटिस देखिने तथा शरीरबाट तरल पदार्थ चुहिने समस्या उत्पन्न भए । स्थिति गम्भीर बन्दै जाँदा मस्तिष्कघात र रक्तस्राव समेत भयो । केही समय उनी कोमामा रहे र चिकित्सकहरूले उनको ज्यान जोगाउन श्वासप्रश्वास यन्त्रको सहारा लिनुपर्यो । लामो समय अस्पतालको सघन उपचारपछि चक्रमनिको जीवन त जोगियो । तर, स्वास्थ्य अवस्था अझै सामान्य हुन सकेको छैन ।
उनी अत्यन्त कमजोर छन् । आफै खाना खान सक्दैनन् । उभिँदा चक्कर लाग्छ र शरीरमा घाउहरू देखिन थालेका छन् । स्मरणशक्ति पनि कमजोर हुँदै गएको परिवारले जनाएको छ । चिकित्सकहरूले उनलाई अब जीवनभर औषधि, नियमित फिजियोथेरापी र निरन्तर हेरचाह आवश्यक पर्ने बताएका छन् ।
यसैबीच, परिवारले केही समयका लागि खुसीको अनुभूति पनि गरेको थियो । मंसिर १९ गते सुरजको घरमा छोरी जन्मिइन् । नयाँ सदस्यको आगमनले परिवारमा आशाको किरण देखिएको थियो । तर, त्यो खुसी धेरै समय टिक्न सकेन । सोही दिन साँझ सुरजकी श्रीमती परम्परामा असामान्य स्वास्थ्य समस्या देखियो । पेटमा अत्यधिक पीडा हुनुका साथै दिसासँग रगत आउने समस्या देखिएपछि अस्पताल लगियो ।

परीक्षणपछि आएको रिपोर्टले परिवारलाई झन् ठूलो संकटमा धकेल्यो । परम्परालाई मलद्वारको क्यान्सर तेस्रो चरणमा पुगेको पुष्टि भयो । एकातिर बुवाको दीर्घकालीन जटिल उपचार र अर्कोतर्फ श्रीमतीको क्यान्सरको उपचार गराउनु पर्ने समस्या एकैसाथ आउँदा सुरजको जीवनमा ठूलो दबाब सिर्जना भएको छ । हाल उनी श्रीमतीको उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका छन् । चिकित्सकहरूले लामो समयसम्म उपचार गर्नुपर्ने बताएका छन् ।

चिकित्सकका अनुसार करिब १५ महिनासम्म निरन्तर उपचार प्रक्रिया आवश्यक पर्नेछ र त्यसपछि पाँच वर्षसम्म नियमित निगरानी गर्नुपर्ने हुन्छ । यस्तो दीर्घकालीन उपचारले आर्थिक रूपमा ठूलो भार थप्ने निश्चित छ । बुवाको उपचारमा पहिल्यै ठूलो खर्च भइसकेको अवस्थामा अहिले श्रीमतीको क्यान्सर उपचार थपिएपछि सुरजको आर्थिक अवस्था कमजोर बनेको छ । परिवारको सम्पूर्ण जिम्मेवारी एक्लैले सम्हालिरहेका उनी काम गर्न समेत नसक्ने अवस्थामा पुगेका छन् ।
एक्लो छोरा भएकाले बुवा र श्रीमती दुवैको हेरचाहको जिम्मा उनकै काँधमा छ । घरमा बुवाको असहाय अवस्था र अस्पतालमा श्रीमतीको उपचारबीच दौडधुप गर्दै उनले आफ्नो व्यक्तिगत जीवन समेत लगभग त्यागेका छन् । बुवा र श्रीमतीको उपचारमा खट्नुपर्ने भएपछि जागिर छाडेका उनी मानसिक रूपमा निरन्तर दबाबमा छन् ।
उपचार खर्च जुटाउन कठिन भएपछि सुरजले सहयोगका लागि सबैसँग अपिल गरेका छन् । देश–विदेशमा रहेका नेपाली तथा सहयोगी मनहरूसँग उनले सहयोगको आग्रह गरेका छन् । सहयोगले परिवारलाई केही राहत मिल्ने उनको विश्वास छ । सहयोग गर्न इच्छुकका लागि बैंक खाता समेत उपलब्ध गराइएको छ ।
सुरजले पत्नी परम्पराको नाममा रहेको एनआईएमबी बैंकको खाता नम्बर ०१६००८४७७२००००११ र आफ्नै नाममा रहेको सिटीजन्स बैंकको खाता नम्बर १७००१००००१३३२०४१ तथा क्यूआर सार्वजनिक गर्दै सहयोगको अपिल गरेका हुन् । ‘जीवनको कठिन मोडहरूमा कहिलेकाहीँ सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । मेरो परिवार अहिले त्यही सहयोग र सहानुभूतिको प्रतीक्षामा छ । त्यो सहयोगले कठिन अवस्था पार लगाउन मद्दत गर्छ,’ उनले भने ।