ललितपुर । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी १३औं राष्ट्रिय सफ्ट–टेनिस प्रतियोगिता २०८३ अन्तर्गतका प्रतिस्पर्धात्मक खेलहरूमा अम्पायरिङ सम्बन्धी गम्भीर त्रुटि देखिएको भन्दै खेलाडीहरूले आधिकारिक रूपमा ध्यानाकर्षण गराएका छन्।
विभिन्न खेलका क्रममा निर्णयगत कमजोरी दोहोरिँदा खेलाडीहरूको मनोबलमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ। खेलाडीहरूका अनुसार राइट बललाई आउट घोषणा गर्ने, आउट बललाई राइट दिने, स्कोरिङमा गल्ती हुने तथा स्पष्ट त्रुटिलाई सामान्य “मिस्टेक” भन्दै टार्ने प्रवृत्तिले निष्पक्ष प्रतिस्पर्धामाथि प्रश्न उठाएको छ।
यसैबीच, खेलाडीहरूले संयुक्त रूपमा निवेदन पेश गर्दै अम्पायरहरूको कार्यसम्पादन मूल्याङ्कन, आवश्यक प्रशिक्षण तथा योग्य र सक्षम अम्पायर परिचालनको माग गरेका छन्। उनीहरूले आगामी खेलहरूमा निष्पक्ष र पारदर्शी अम्पायरिङ सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।
खेलाडीहरूको तर्फबाट आभाष बुढाथोकीले निष्पक्ष खेल वातावरणको आवश्यकता औंल्याउँदै हाल भइरहेका त्रुटिहरूले खेलप्रतिको विश्वास कमजोर बनाएको बताए। उनले सम्बन्धित निकायलाई तुरुन्त सुधारात्मक कदम चाल्न आग्रह गरेका छन्।
खेलाडीहरूले खेलको मर्यादा, निष्पक्षता र खेलाडीको हकहित सुनिश्चित गर्न सरोकारवाला निकायले यथाशीघ्र आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेका छन्।