आँखाभरि आँसुको स्थिर परेपछि,
न थाम्न सक्छु, न बगाउन सक्छु पिर परेपछि।
भित्रभित्रै डढेर खरानी जस्तै भएँ म,
जब मनमा अनगिन्ती चोटका धर्का परेपछि।
के गर्छौ र तिमी जालझेल गर्दै बस्छौ,
थाम्नै गाह्रो यार, दिनदिनै मायाको भिड बढेपछि।
आफ्नै भनिएका हातहरू टाढा हुँदै गए,
विश्वास पनि टुट्यो, जब झुटको भीड बढेपछि।
आफन्त आफ्ना पनि के छन् भनूँ यार अहिले त,
छोड्दा रहेछन् धनसम्पत्ति र दौलतको रिड बढेपछि।
रगतको नाता पनि कागजजस्तै च्यातियो,
जब स्वार्थको आगो मनभित्रै बल्न थालेपछि।
शब्दहरू पनि अब मौन छन्, दुखको बोझले थिचिएर,
सुनसान साँझहरूमा झन् झन् मन उथलपुथल भएपछि।
कराउँछु भित्रैभित्र, तर आवाज बाहिर आउँदैन,
जब पीडाले आत्मा नै च्यापेर बस्न थालेपछि।
सपना थिए एकान्तमै फुल्ने, तर समाजले कुचाल गर्यो,
हातमा कलम हुँदाहुँदै आवाज दबिएर डर बढेपछि।
लेख्न खोजेँ आफ्नै कथा, आफ्नै पीडा,
तर सत्य लेख्दा नै किन सबै टाढा हुन थालेपछि?
अब न आँसुको मल्हम छ, न साथको भरोसा,
सपनाको सहर डुब्छ, जब आफ्नो नै शंका बढेपछि।
आफ्नै मनसँग पनि लड्दैछु आजकल म,
जब आत्मविश्वास नै बिस्तारै हराउँदै गएपछि।
रातहरू अब लामो लाग्छ, निद्रा हराएको छ,
हरेक झल्कोमा पुराना घाउ फेरि बल्झिएको छ।
हास्न खोज्दा पनि आँखाले साथ दिँदैन,
मनको भारीले हरेक खुशी थिचिएको छ।
तर पनि हार मानेको छैन यो मनले,
अँध्यारोभित्र पनि उज्यालो खोज्दै हिँडेको छ।
पिरको पहाड कति नै अग्लो किन नहोस्,
एकदिन यो मनले शिखर छुन खोजेको छ।
किनकि म ढले पनि फेरि उठ्न जान्दछु,
टुटे पनि फेरि जोडिन जान्दछु।
यो पीडा, यो संघर्ष, यही मेरो कथा हो,
र म अझै लड्न जान्दछु ।
— रविन्द्र कुमार यादव