इटहरी । काठमाडौँमा आगामी जेष्ठ १४ गतेदेखि आयोजना हुन लागेको ४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका लागि प्रदेश स्तरीय छनोट खेल इटहरी टेबल टेनिस एकेडेमीको कभर्ड हलमा सफलतापूर्वक सम्पन्न भएको छ।
छनोट प्रतियोगितामा मोरङका सुशान्त मेहताले पुरुष एकलतर्फ सम्पूर्ण खेलमा अपराजित रहँदै उपाधि जितेका छन्। फाइनलमा उनले सुनसरीका आपुहाङ राईलाई ३–२ सेटको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै शीर्ष स्थान हासिल गरेका हुन्। सोही इभेन्टमा मोरङका मनिष खरेल तृतीय भएका छन्।
महिला एकलतर्फ सुनसरीकी अञ्जली ठाकुरले आफ्नै जिल्लाकी सुधा पोखरेललाई ३–२ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरिन्। मोरङकी टोनिश्मा पोखरेल तृतीय भइन्। अन्डर–१९ ब्वाइज सिङल्समा मोरङका श्रीजल प्याकुरेलले सुनसरीका सौगात पोखरेललाई ३–१ सेटमा पराजित गर्दै छनोट हुन सफल भए।
अन्डर–१९ गर्ल्स सिङल्सतर्फ सुलेखा ठाकुरले मोरङकी आकृति थापा मगरलाई ३–० सेटमा पराजित गर्दै प्रथम स्थान प्राप्त गरिन्। त्यस्तै अन्डर–१५ ब्वाइज सिङल्समा सुनसरीका गौतम तामाङले मोरङका सक्षम बस्नेतलाई ३–० सेटमा पराजित गर्दै शीर्ष स्थान हात पारे। अन्डर–१५ गर्ल्स सिङल्समा सुनसरीकी श्रेया सुवेदीले मोरङकी रोशिका घिमिरेलाई ३–० सेटमा पराजित गर्दै प्रथम भइन्।
आयोजकका अनुसार पुरुष र महिला एकल इभेन्ट बाहेक उमेर समूहका सबै इभेन्टहरूबाट प्रदेश स्तरबाट एक–एक जना मात्र खेलाडी छनोट भएका छन्।